कमिसन बिरामीबाटै यसरि उठाउछन डाक्टर I

नेपालगन्ज भाद्र २१,

भेरी अञ्चल अस्पतालभित्र सुविधासम्पन्न प्रयोगशाला छ । एक्स-रे र भिडियो एक्स-रेका लागि तीन दक्ष रेडियोलोजिस्ट छन् । तर ओपीडी र इमरजेन्सीका चिकित्सकले बिरामीलाई अस्पताल बाहिरका निजी प्याथोलोजीमा पठाएर ३० देखि ५० प्रतिशतसम्म कमिसन लिने गर्छन् ।

अस्पतालका चल्तीका फिजिसियन हुन्, डा. राजन पाण्डे । अस्पतालको मूलगेटमै उनको क्लिनिक छ । त्यसको सामुन्ने छ साथी प्याथोलोजी, जहाँ उनी दैनिक सयभन्दा धेरै

बिरामीलाई विभिन्न रक्त परीक्षणका लागि पठाउँछन् त्यहाँबाट उनले बिलको ३० प्रतिशत कमिसन बुझ्ने गरेका छन् । ‘साथीकहाँ आउने ९० प्रतिशत ग्राहक डा. पाण्डेकै बिरामी हुन्,’ स्रोतले भन्यो, ‘उनले हरेक महिना डेढदेखि २ लाख कमिसन नगद बुझ्ने गरेका छन् ।’ उक्त प्याथोलोजी अस्पतालभित्रकै कर्मचारीले सञ्चालन गरेका हुन् ।

साथीले पाण्डेलाई सुरुमा २५ प्रतिशत कमिसन दिन्थ्यो । उनलाई चित्त बुझेन सायद । एकाएक बिरामी सगरमाथा प्याथोलोजीतिर पठाउन थाले । तत्कालै सञ्चालकहरूको बैठक बस्यो र उनको कमिसन ३० प्रतिशत पुर्‍याइयो ।

नेपालगन्जमा उनी ल्याबबाट सबैभन्दा बढी कमिसन पाउने चिकित्सकमा पर्छन् । त्यसैले, उनीमाथि आवश्यकभन्दा धेरै जाँच गराउने आरोप पनि लाग्ने गरेको छ ।

पेट रोग विशेषज्ञ डा. संकेत रिसालले ल्याब परीक्षणका लागि बिरामीलाई चौधरी प्याथोलोजीमा पठाउने गरेका छन् । उक्त प्याथोलोजी डा. दिनेश चौधरीका भाइ अरविन्द चौधरीको हो । त्यहाँबाट डा. संकेतले ५० प्रतिशत कमिसन पाउँछन् । ‘मसँग ५० प्रतिशत माग्नुभएको थियो,’ एक प्याथोलोजी सञ्चालकले भने, ‘मैले दिन नसकेपछि चौधरी प्याथोलोजीमा पठाउन थाल्नुभएको हो ।’

डा. आरके झाले आफ्ना बिरामी स्टार प्याथोलोजीमा पठाउँछन् । इमरजेन्सीमा कार्यरत जुनियर डाक्टरहरूले पनि प्याथोलोजीबाट कमिसन लिन्छन् । उनीहरूले सगरमाथा डाइग्नोस्टिक सेन्टरमा बिरामी पठाएर कमिसन लिने गरेको स्रोत बताउँछ । चौधरी, स्टार र सगरमाथा प्याथोलोजीले बिरामी तान्न चिकित्सकलाई दिने कमिसनको भाउ बढाएर ५० प्रतिशत पुर्‍याएकोमा अन्य असन्तुष्ट छन् ।

अल्ट्रासाउन्डमा भने डाक्टरहरूले दुईथरी रेडियोलोजिस्टकहाँ पठाउने गरेका छन् । सामान्य बिरामीलाई कम अनुभवी तर राम्रो कमिसन दिनेकहाँ पठाउँछन् भने गम्भीर स्वास्थ्य जाँचका लागि उपकरण र जनशक्ति दुवै राम्रो ठानिएका कहाँ सिफारिस गर्ने गरेको स्रोतको दाबी छ । डा. राजनले गम्भीर खाले अंकित अल्ट्रासाउन्ड र काठमाडौं अल्ट्रासाउन्डमा पठाउने गरेका छन् । त्यस्तै, डा. संकेतले सुपर अल्ट्रासाउन्डमा पठाउँछन् ।

भेरी अस्पतालमा हरेक दिन कम्तीमा सय भिडियो एक्स-रे गर्नुपर्ने बिरामी आउँछन् । अस्पतालमा तीन दक्ष रेडियोलोजिस्ट छन् । तर, उनीहरू एक दिनमा २५ वटाभन्दा धेरै भिडियो एक्स-रे गर्दैनन् । जबकि, उनीहरू आउनुअघिका डा. ज्ञानेन्द्रमान सिंह एक्लैले हरेक दिन २५ अल्ट्रासाउन्ड गर्थे । उनको ११ औं तहमा बढुवा भएर सरुवा भएपछि अहिलेका रेडियोलिस्ट आएका हुन् । उनीहरूले अस्पतालभित्र अल्ट्रासाउन्ड गर्न मन नलगाउनुको कारण हो, बाहिर आ-आफ्नै निजी अल्ट्रासाउन्ड सेन्टर हुनु । रेडियोलोजिस्ट डा. विश्वनाथ शर्माले अंकित अल्ट्रासाउन्ड चलाउँछन् । त्यस्तै, डा वीरेन्द्रबहादुर चन्दको क्रिम अल्ट्रासाउन्ड छ भने डा. आइमन्डु श्रेष्ठले काठमाडौं अल्ट्रासाउन्ड सञ्चालन गरेका छन् । अस्पतालभित्र २५ कोटा तोकेका रेडियोलोजिस्टहरूलाई बाहिर भने भ्याइनभ्याई छ । उनीहरूले आफ्ना निजी सेन्टरमा एकै दिन एक्लै ८० वटासम्म अल्ट्रासाउन्ड गरेका उदाहरण छन् । चिकित्सकले अञ्चल अस्पतालको ल्याबले दिएको रिपोर्टमा शंका व्यक्त गर्छन् र ‘राम्रो ल्याब’ भन्दै निजीमा पठाउँछन् ।

अस्पतालका ल्याब प्रमुख गोविन्द पौडेल गुणस्तरमा कुनै शंका गर्ने ठाउँ नभएको दाबी गर्छन् । ‘राष्ट्रिय प्रयोगशालाबाट प्रमाणित विधि र उपकरण प्रयोग हुन्छ,’ उनले भने ।

तर, उनी आफैं पनि अस्पतालबाहिर निजी प्याथोलोजी सञ्चालन गर्नेमा पर्छन् । पौडेलको अस्पतालकै सटरमा गीता प्याथोलोजी छ । त्यस्तै, दिलबहादुर जीसीले आलोक प्याथोलोजी सञ्चालन गरेका छन् भने गोपालप्रसाद गौतमको कञ्चन प्याथोलोजी र प्रदीप ओलीको सगरमाथा डाइग्नोस्टिक छ । मीनबहादुर डाँगीले शर्मा प्याथोलोजी चलाएका छन् भने महमुद अहमद सिद्दिकीको हिमाल पनि चल्तीको प्याथोलोजीमा पर्छ । ‘अस्पतालका टेक्निसियन अफिस टाइममा भित्रै हुन्छन् । त्यसैले बिरामी बाहिर लगेका छैनन्,’ उनले भने ।

अस्पताल प्रमुख डा. पीताम्बर सुवेदीले पनि ओपिडी र इमरजेन्सीबाट निजी प्याथोलोजीमा जाने बिरामी रोक्न प्रयास गरेका हुन् । पटक-पटक लिखित परिपत्र जारी गरे । ल्याबमा सन्ध्याकालीन सेवा सुरु गरे । अस्पताल समयमा बाहिरका प्याथोलोजीका रिपोर्ट नहेर्न निर्देशनसमेत दिए । कार्यान्वयन भने आफूले मात्र गर्न सके । कमिसन लोभमा फसेका चिकित्सकले ‘ल्याब त भित्र पनि छ, बाहिरको यो अलि राम्रो छ’ भन्दै बिरामी पठाउने गरेका छन् ।

डा.सुवेदीका अनुसार चासो गर्ने अर्को कारण पनि छ । करिब दुई सय कर्मचारीमध्ये अस्पताल विकास समितिअन्तर्गत ६ चिकित्सकसहित झन्डै सय कर्मचारी कार्यरत छन् । डा. संकेत रिसाल र डा. आरके झा पनि समितिअन्तर्गत नियुक्त हुन् । समितिअन्तर्गतका कर्मचारीका लागि मासिक तलब खर्च मात्र १८ लाख लाग्ने उनले बताए । अस्पतालभित्रका ल्याब, अपरेसन तथा बेड लगायतका शुल्क र सटर भाडाबाट उक्त खर्च निकाल्न निकै गाह्रो भएको डा. सुवेदीको भनाइ छ । समितिअन्तर्गतका चिकित्सक र कर्मचारीले साउनको तलब अझै पाएका छैनन् । ‘कमिसनका लागि बिरामी निजी प्याथोलोजी पठाउनु बेठीक मात्र हैन, निन्दनीय पनि हो । यो सरकारी अस्पताल डुबाउने क्राइम पनि हो,’ अस्पताल प्रमुख डा. सुवेदीले भने, ‘भेरीको ल्याबजति गुणस्तर निजी कुनै प्याथोलोजीमा पनि छैन ।’

‘भेरीमा मात्र काम गर्छु’’

यसैबीच, छैटौं तहकी स्टाफ नर्स लक्ष्मी केसीले आफू भेरी अञ्चल अस्पतालमा मात्र कार्यरत रहेको बताएकी छन् । भदौ १७ गते कान्तिपुरमा प्रकाशित समाचारमा दुई अस्पतालमा काम गर्ने स्टाफ नर्सको सूचीमा आफ्नो नाम परेकोमा उनले खण्डन गरेकी हुन् । भेरी अस्पतालका २४ मध्ये २१ नर्स नेपालगन्जका अन्य निजी अस्पताल र नर्सिङ क्याम्पसमा आंशिक र पूर्णकालीन रूपमा कार्यरत छन् । अस्पतालका छैटौं तहकी स्टाफ नर्स सीता पराजुली वेस्टर्न

नर्सिङमा र बसुन्धरा ज्ञवाली भेरी नर्सिङ क्याम्पसमा पूर्णकालीन रूपमा अध्यापन गर्छन् । त्यस्तै, सातौं तहकी सन्जु रिजाल मध्यपश्चिम नर्सिङ कलेजमा पनि पूर्णकालीन छिन् ।

भेरी अस्पताल     निजी प्याथोलोजी

भिडियो एक्स-रे           ५००।-    ७५०।-

एक्स-रे                    १५०।-    २००।-

टाइफाइड रगत जाँच      ७५।-    १५०।-

लिभर फङसन टेस्ट         २७०।-    ८००।-

एचआईभी टेस्ट        निःशुल्क     ४००।-

हेपाटाइटिस               १५०।-    २५०।-

स्रोत : भेरी अस्पताल तथा निजी प्याथोलोजीहरू ।
(कान्तिपुर दैनिक बाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com