स्वास्थ्य सचेतना विषयक छलफलपछि किशोरी नियमित विद्यालय I

पाल्पा भाद्र ३०,

सुरक्षित गर्भपतनका विषयमा विद्यार्थीलाई सचेत गराउने उद्देश्यले विद्यालयस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सचेतना विषयक छलफलपछि किशोरी नियमित विद्यालय जान थालेका छन् । 

युथ एक्सन नेपाल, नेपाल परिवार नियोजन सङ्घ, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार जिल्ला कोलिसन पाल्पाको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम तानसेन–१३ बन्दीपोखरास्थित लक्ष्मी उच्चमाविका छात्रा रजस्वला हुँदा पनि नियमित रुपमा विद्यालय जान थालेका हुन् । यौन तथा प्रजजन स्वास्थ्यका बारेमा साथीसँग आफ्ना समस्या सुनाउने गरी छलफल हुने हँुदा एकअर्काका समस्या समाधानका लागि भूमिका खेल्न गरेको विद्यालयका शिक्षिकाले बताएका छन् । 

रजस्वला हुँदा विद्यालयमा जान नमान्नेले अहिले प्याडको प्रयोग गरी विद्यालयमा सहज रुपमा पुग्ने गरेको उनीहरुको भनाइ छ । उच्च मावि र माविका विद्यार्थीबीच यौन तथा प्रजजन स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रममा सहभागीले घरपरिवारमा समेत यौन शिक्षाका बारेमा सचेत बनाउनेछन् । महिलाको इच्छाविपरीत गर्भलाई सुरक्षित र सूचीकृत स्वास्थ्य संस्थाबाट मात्र गर्नुपर्ने नेपाल परिवार नियोजन सङ्घ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए । 

बाह्र हप्तासम्मको गर्भपतन गर्न÷गराउन सक्ने भए पनि सचेतनाको अभावले महिलाले १२ हप्ताभन्दा बढी गर्भ रहेको अवस्थामा लुकीछिपी गर्भपतन गराउँदै आएको जिल्ला स्वास्थ्य कार्यालयको भनाइ छ । किशोर अवस्थामा आइपर्ने समस्याबाट बच्ने उपाय र युवालाई यौन तथा प्रजनन स्वास्थ्यका सवालमा जानकारी गराउँदा उनीहरू प्रजजन स्वास्थ्य स्वच्छ रहन सक्ने युथ एक्सन नेपाल पाल्पाका संयोजक कृष्ण कार्कीको भनाइ छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com