जग्‍गा भाडामा दिएर शिक्षकलाई तलब I

भीमदत्तनगर भाद्र २१,

कञ्‍चनपुरको देखतभूली-३ जाइजालामा रहेको जनचेतना प्राथमिक विद्यालयमा पठनपाठनको कार्य गर्दै आएका शिक्षकको तलब जग्गाबाट आएको आम्दानीबाट बेहोरिँदै आएको छ।

विद्यालयको स्वामित्वमा रहेको पौने तीन बिघा जग्गा लिजमा दिएर आउने रकमबाट विद्यालयका निजी स्रोतमा कार्यरत शिक्षकको तलब बेहोरिँदै आएको हो। विद्यालयका तीन शिक्षकको तलब जग्गा भाडामा दिएर आउने रकमबाट बेहोरिँदै आएको विद्यालयका प्रधानाध्यापक मङ्गलप्रसाद चौधरीले बताए विद्यालयले वार्षिक रूपमा पाउने गरी रु ७० हजारमा जग्गा भाडामा दिँदै आएको छ।

अभिभावकको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग रकम जुटाउन नसक्दा विद्यालयले जग्गा भाडामा दिनुपरेको विद्यालय प्रशासनले जनाएको छ। विद्यालयले २०६१ सालदेखि जग्गा भाडामा लिएर शिक्षकलाई तलब खुवाउँदै आएको छ । विद्यालयमा कार्यरत तीन शिक्षकलाई मासिक रूपमा रु २२ हजारभन्दा बढी रकम तलबबापत विद्यालयबाट उपलब्ध गराइँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोविन्दा रानाले बताए।

विद्यालयमा दुई शिक्षक राहत कोटामा र तीन निजी स्रोतमा कार्यरत रहेका छन् । विद्यालयमा मुक्तकमैया र बाढीपीडितका बालबालिकाको बाहुल्यता छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com