मुम्बई भाद्र २०,
बलिउड अभिनेत्री एवं पूर्वविश्वसुन्दरी प्रियंका चोपडाले चलचित्र 'मेरी कोम'लाई कति महत्त्व दिएकी छन् भनेर उनी आफैंले खुलासा गरेकी छन्। ३२ वर्षीया अभिनेत्री चोपडाले यो चलचित्र धेरै महत्त्वपूर्ण भएको तर्क गर्दै आफ्नो अभिनययात्रामै यसको विशेष अर्थ रहेको बताएकी छन्।
'मेरी कोमलाई मैले पूर्ण रूपमा न्याय गरेकी छु', उनले आत्मविश्वासका साथ भनेकी छन्, 'मेले आधा आत्मा मेरी कोमलाई दिएँ।'
जीवनको सबभन्दा अप्ठ्यारो समयमा यो चलचित्रको काम थाले पनि यसले सबभन्दा ठूलो सन्तुष्टि दिएको उनको भनाइ छ। प्रियंकालाई पितृशोक परेको चार दिनपछि चलचित्रको काम सुरु भएको थियो।
दु:खको त्यो क्षण सम्झँदै उनले त्यसयता आफ्नो सम्पूर्ण प्रयत्न यसै चलचित्रमा लगाएको बताएकी छन्।
'चलचित्र छायांकनका क्रममा प्रत्येक दिन चुनौती हुन्थ्यो। तर, मैले कडा मेहनत र दृढताका साथ त्यसको सामना गरेकाले मेरो आत्माको केही भाग यो चलचित्रमा छ', प्रियंकाले भनेकी छन्, 'यो चलचित्र मेरो हृदयसँग नजिक पनि छ।'
चलचित्र मेरी कोमकै लागि उनले कडा अभ्यास गरी आफ्नो शारीरलाई नै रूपान्तरण गरेकी छन्। चलचित्रको प्रोमो सार्वजनिक भएसँगै उनको कामको बलिउडमा सर्वत्र प्रशंसा सुरु भएको छ।
सेप्टेम्बर ४ मा टोरोन्टोमा हुने अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा प्रिमियर हुन लागेको यो चलचित्र सेप्टेम्बर ५ (शुक्रबार) देखि विश्वभर एकसाथ रिलिज हुँदैछ।
चलचित्र प्रदर्शनअघि बलिउडमा यस प्रकारको चर्चा तीन खान सलमान, साहरुख र अमिरका चलचित्रको मात्रै हुने गरेको बताइएको छ।
अहिले रातदिन चलचित्रको प्रचारमा जुटेकी प्रियंकाले 'मेरी कोम' साँच्चिकै प्रचार गर्नयोग्य चलचित्र भएको पनि बताएकी छन्। विश्व च्याम्पियन भारतीय बक्सर मेरी कोमको जीवनीमा आधारित यस चलचित्रमा नेपालका लोकप्रिय अभिनेता सुनिल थापाले पनि मुख्य भूमिकामा अभिनय गरेका छन्। मेरी कोमका गुरु नरजित सिंहका रूपमा देखिएका उनकै कारण नेपालमा पनि यो चलचित्रले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ। -एजेन्सी: