स्विजरलान्डका जनताले सरकारी स्वास्थ्य बिमा लागू गर्न अस्वीकार गरे I

जेनेभा आश्विन १३,

स्विजरल्यान्डका मतदाताले आइतबार मुलुकका सबै निजी स्वास्थ्य बिमा प्रणालीलाई परित्याग गरी सरकारी बिमा सिर्जना गर्ने योजनालाई अस्वीकार गरेको मतदानपछिको अभिमत सर्वेक्षणमा देखिएको छ ।

बामपन्थी पार्टीले वर्तमान बिमा प्रणालीले साधारण जनताको बजेटमा प्रभाव पारेकाले उक्त योजना ल्याएको र त्यसलाई ६४ प्रतिशत मतदाताले अस्वीकार गरेको जीएफएस डट बर्न नामक अभिमत सर्वेक्षण संस्थाले जानकारी दिएको छ ।

स्विजरल्यान्डको स्वास्थ्य प्रणालीलाई विदेशमा प्रभावकारी नमुनाको रूपमा हेरिन्छ र यसलाई सार्वजनिक क्षेत्रमा लैजानु ठूलो परिवर्तनको रूपमा हेरिन्थ्यो । हाल लागत बढ्दै गएपछि यसको विरोध पनि बढ्दै गएको देखिएको छ । नेत्ररोग विशेषज्ञ मिसेल म्याटरले गत २० वर्षमा स्विजरल्यान्डमा स्वास्थ्य लागत ८० प्रतिशत वृद्धि भएको तथा बिमाको प्रेमियम १२५ प्रतिशत बढेको बताए ।

उनले यो अब सम्भव नभएको र यसमा परिवर्तन गर्नुपर्ने बताए । उनी जेनेभा फिजिसियन एसोसिएसनका प्रमुख हुन् । उनले वर्तमान प्रणाली खारेज हुनुपर्ने बताएका छन् । स्वीजरल्यान्डमा प्रत्यक्ष प्रजातन्त्र रहेको छ र यहाँ जनमत सङ्ग्रह गर्न एक लाख मतदाताको हस्ताक्षर आवश्यक पर्छ । सुधारवादी समूहले यसका लागि सो सङ्ख्यामा मतदाताको हस्ताक्षर सङ्कलन गरेको बताइएको छ ।

दुई तिहाइ मतदाताले प्रस्तावको विपक्षमा मतदान गरे त्यसलाई प्रस्तावकका लागि ठूलो पराजयको रूपमा हेरिन्छ । हालैको अभिमत सर्वेक्षणमा प्रस्तावको विपक्षमा ५४ प्रतिशत मत खस्ने अनुमान गरिएको थियो । सन् २००७ मा भएको यस्तै जनमत सङ्ग्रहमा ७१ प्रतिशतले प्रस्तावको विपक्षमा मतदान गरेका थिए । रासस/एएफपी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com