कथा, मृगौला पिडितको I

काठमाडौँ, १७ भदौ,

सुशील दर्नाल : धनुषा जिल्ला घर भई हाल अनामनगर बसोवास गर्ने जीतबहादुर थापा मगर मिर्गौलापीडित आफ्नो छोराको उपचारका लागि रकम जुटाउन सुन्धारा नजिकै सडक छेउमा आर्थिक सहयोगका लागि याचना गरिरहेका छन् ।

बाइस वर्षको उमेरमा छोराको दुवै मिर्गौलाले काम नगर्ने भएपछि विगत छ वर्षदेखि लगातार रक्त शुद्धीकरण (डायलसिस) गर्दा करिब १५÷१६ लाख रुपियाको सबै सम्पत्ति सकिएपछि घरबारविहीन बनेका जीतबहादुर र श्रीमती जिन्ता थापा मगरले विगत एक वर्षदेखि यसरी सडकमा आर्थिक सहयोगको लागि आग्रह गर्दै आएका छन् ।

जीतबहादुरले भने, “छोराको हप्तामा दुईपटक रगत शुद्धीकरण गर्नुपर्छ, एकपटक शुद्धीकरण गर्दा कम्तीमा दुई हजार ५०० देखि तीन हजार रुपिया लाग्छ, त्यो रकम बिहानदेखि बेलुकासम्म सडकमा दैनिक कराउँदासमेत जम्मा गर्न सकिँदैन ।” हाल वीर अस्पतामा उपचार गराइरहेका श्यामको मिर्गौला प्रत्यारोपण गर्न कम्तीमा १०/१२ लाख रुपिया लाग्ने जीतबहादुरको भनाइ छ ।

गोरखा जिल्ला गुम्दा गाविस खानीबेँसी–५ घर भई हाल सुन्धाराको छेउ सडकमा बसेर आर्थिक सहयोगको याचना गर्ने अर्का मिर्गौलापीडित कान्छा गुरुङको पीडा पनि उस्तै छ । विगत दुई वर्षदेखि निरन्तर रगत शुद्धीकरण गर्दा गुरुङले पनि सबै सम्पत्ति सकेर घरबारविहीन हुनुपरेको छ । ४० वर्षीय गुरुङले भने, “एउटा झुपडी घर र गरीखाने एउटा त्यही पाखो बारी थियो, उपचारका लागि ऋण लिएको तीर्न नसकेर त्यो सबै साहुले खायो, अहिले छोराछोरी र श्रीमती सबैको विचल्ली भएको छ ।”

त्यसैगरी काभ्रेपलाञ्चोक जिल्ला हाक्से गाविस–५ घर भई हाल न्युरोड गेटमुनि बसेर आर्थिक सहयोग मागिरहेका ३० वर्षीय सुनबहादुर तामाङको दुवै मिर्गौलाले काम गर्न छोडेको तीन वर्ष भयो । विगत एक वर्षदेखि सडकका विभिन्न स्थानमा आर्थिक सहयोगको याचना गर्दै आएका तामाङको पनि मिर्गौलाको उपचार गर्दागर्दै भएको सबै सम्पत्ति सकियो ।

अहिले उनका तीन छोरा/छोरी र श्रीमती ज्यान पाल्नका लागि अर्काको घरमा घरायसी काममा लागेका छन् । तामाङले भने, “ हप्तामा दुईपटक रगत शुद्धीकरण गराउनुपर्छ, पैसा जुटाउन नसकेर कुनै हप्ता त रगत शुद्धीकरण नै गराउँदिन, निकै धौधौ भएको छ न मर्नु न बाँच्नुको अवस्था छ । मिर्गौला नै प्रत्यारोपण गर्ने रकम त झन कहाँबाट जुटाउनु ।”

श्याम मगर, सुनबहादुर तामाङ र कान्छा गुरुङ सडकमा आर्थिक सहयोगका लागि याचना गर्ने उहाहरणका पात्रमात्र हुन् । यी र यस्ता हजारौँ मिर्गौलापीडितहरु उपचारका क्रममा भएको सबै सम्पत्ति सकेर सडकका विभिन्न स्थानमा सहयोगको याचना गरिरहेका छन् । केही महिनाअघि विभिन्न माग राखेर करिब तीन महिनासम्म मिर्गौलापीडितले गरेको आन्दोलनपछि रगत शुद्धीकरण निःशुल्क गरिनेलगायतका सहमति सरकारसँग भए पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

राष्ट्रिय मिर्गौलापीडित सङ्घ नेपालका अध्यक्ष चिन्तामणि पोखरेलले आन्दोलनका क्रममा दर्जनौँ मिर्गौलापीडितले ज्यान गुमाइसकेपछि सरकारले मिर्गौला रोगीको रगत शुद्धीकरण निःशुल्क गर्ने सहमति गरे पनि अझै कार्यान्वयन हुन नसकेको बताए ।

मिर्गौैलापीडित राजेश पुडासैनीले आफ्नो मिर्गौला प्रत्यारोपणका लागि चार लाख रुपिया जुटाउन सरकारका सबै निकाय र आफन्तसँग हारगुहार गर्दासमेत कतैबाट सहयोग हुन नसकेको गुनासो गरे । संसारभर बढ्दै गएको उच्च रक्तचाप, मधुमेह र खाद्य तत्वमा मिसिएको जटिल किसिमका रासायनिक तत्वले मिर्गौला पीडितका रोगीहरू बढ्दै गएको पाइन्छ ।

नेपालमा यस रोगको बारेमा यकिन तथ्याङ्क नभए पनि कुल जनसङ्ख्याको नौ प्रतिशत मानिसमा यो रोग लाग्नेगर्छ । जसमध्ये १० प्रतिशत मानिसको दुवै मिर्गौला पूर्ण खराब भएको मिर्गौलापीडित सङ्घको भनाइ छ । दुवै मिर्गौला खराब भएपछि स्वस्थ्य व्यक्तिको मिर्गौला प्रत्यारोपण गर्नु एकमात्र विकल्प हुँदाहुँदै प्रत्यारोपणका लागि करिब आठ लाख र त्यसपछि औषधि सेवनका लागि महँगो धनराशि खर्चिनुपर्ने हुन्छ ।

मिर्गौला मानिसको एक संवेदनशील अङ्ग भए पनि सो रोगको बारेमा समयमै सचेत गराउन र उपचार पाएको खण्डमा ९० प्रतिशत बिरामीको मिर्गौला जोगाउन सकिन्छ । जनस्तरमा चेतना र आवश्यक प्रचारको कमीले यो रोग झन जटिल बन्दै गइरहेको छ । निजी अस्पतालले रक्त शुद्धीकरण गर्दा एकपटकमा करिब रु तीन हजार र सरकारी अस्पतालले करिब एक हजार ५०० रुपिया लिँदै आएका छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com