जनकपुर भाद्र २४,
सर्लाही हरिपुर-९ की कुसुमादेवी दास दसदिने नाति बोकेर जनकपुर अञ्चल अस्पतालको अप्रेसन थिएटर (ओटी) आगाडि नर्सलाई गुहार्दै थिइन् । तर, नर्स केही नसुनेझैं गरी पोस्ट अपरेटिभ वार्ठमा छिरिहालिन् । कुसमा अमिलो मन पार्दै अस्पतालको छिंडीतरि लागिन् । जहाँ उनकी बुहारी एउटा पातलो गुन्द्रीमा लडिरहेकी छन् ।
‘गरिब मान्छे मलाई एकदिन यहाँ बस्न पनि गाह्रो छ,’ छेउबाटै हिंडिरहेकी बिरामी कुरुवालाई बिलौना सुनाएर दुःख बिसाउने कोसिस गर्छिन, ‘खानलाउन त परै जाओस्, बुहारीलाई औषधी किन्नसमेत पैसा छैन । कहिलेसम्म यसरी कुर्नुपर्ने हो, ठेगान छैन ।’ शल्यक्रियामार्फत बच्चा जन्माएको चार दिनमा डिस्चार्ज हुन डाक्टरले दबाव दिए पनि पेटको घाउ निको हुने संकेत नदेखिएको बुहारी पिंकुले बताइन् । ‘पीडा निको गर्न मान्छे अस्पताल आउँछन्, उनले भनिन्, ‘यहाँ त झन् बल्झाउँदै छन् । घाउ बिगि्रदै जादा पनि वास्ता गर्दैनन्, उल्टै घर जा भन्छन् ।’
धनुषा, देउरी-९ की पल्टीदेवी मण्डलको पीडा पनि उस्तै छ । उनकी छोरी इन्द्रकलालार्य पनि अघिल्लो सोमवार शल्यक्रियामार्फत सुत्केरी गराइयो तर पेटमै बच्चा मरिसकेको रहेछ । अस्पतालले चार दिनपछि नै घर जान दबाब दिए पनि घाउ निको नभएपछि उनीहरुले तीन दिन छिंडीमै बिताए । दिक्क भएपछि सातौं दिन त घर फर्किए तर फेरि कतिबेला बल्भिmएको घाउ बोकेर अस्पताल धाउनुपर्ने हो ठेगान छैन ।
शल्यक्रिया गराएर बच्चा जन्माएका यस्ता थुप्रै महिला अस्पतालको सिंढी र बार्दलीमा रात विताउँन बाध्य छन् । अस्पतालमा सुरक्षित ठाँउको अभाव र नर्स तथा डाक्टरहरुबाट आवश्यकताअनुरुप हेरचाह नपाउँदा उनीहरु झनै पीडित हुनुपर्ने स्थिति छ । अस्पतालमा शल्यक्रिया गराउनेको चाप दिदिनै बढे पनि त्यसअनुसार पोस्ट आपरेटिभ वार्ड र शैयाको व्यवस्था नहुँदा टाढाबाट प्रसूति सेवा लिन आउने महिला घाउमा इन्फेक्सन हुने त्रास बोकेर फर्कनुपर्ने बाध्यता छन् । (नागरिक दैनिकबाट)