कविता- (प्राकृतिक लीला)
त्यो दिन र समय-
ओल्लो डाँडा र पल्लो भीरको जुहारी
त्यो लाली गुराँसको बैँश
माथिबाट सुसेल्दै झरेको झरनाको चंचलता
तल सुन कोशीले नाँच्दै मारेको बुर्कुशी
फुल्दै गरेको यौवनसंगसंगै
त्यो जोडी वर-पीपलको खुशी
आहा ! त्यो सुन्दर तरूनी चौतारा
तिम्रो र मेरो पहिलो भेट
भुल्नै सकेको छैन ।
'म' हिजो त्यो दिनको
सम्झना र झझल्कोले
फेरी भेट्ने आशामा
तिमीलाई खोज्दै त्यही पुगेको थिएँ
तर .......
सुन्न सकिन तिम्रो जुहारी, देख्न सकिन हाँसो
मौन थिए साथीहरु पनि सबै-सबै
यो आधुनिक जमाना-
त्यो डाँडा र भीर त पहीरो भएछ
सुन्दर बस्ती बगर भएछ
सुरु भएछ
मैलै नदेखेको नबुझेको बशन्त
लाली गुराँसको बैश लुटिएछ
झरनाको मुखमा पट्टि बाँधी दिएछ
सुन कोशी पिंजडामा परेछ
वर-पीपलको यौवन
तुसारामा परेछ
त्यो तरुनी चौतारा पनि
पहीरो संगै पोईला गएछ
चारै चौदिषा खोजि रहे तिमीलाई
'म' तिमीलाई पहिले जस्तै
सुन्दर शान्त देख्न चाहन्थें
तर- देख्न भेट्नै सकिन ।
आज बल्ल-बल्ल तिमीसंग भेट हुँदा
मैले केही बोल्न सकिन-
तर ......
मेरो आँखीले सबै-सबै पोल खोलिदियो
आमाको काख रित्तिए छ
श्रीमतीको सिन्दुर पुछिए छ
'बाबा' सुकुम्बासी भए छ
छोरा-छोरी टुहुरा-टुहुरी भए छ ।
ए ! प्राकृतिक तिमीले
नयाँ पाउला फेरेकै रहेछौ
तिम्रो पोल मेरो आँखाले
खोलिदियो भनेर तिमीले
घामको मुख पनि बादलको
पछौरीले ढाकी िदयौ !!
पूर्ण कान्छा गुरुङ