गज़ल : By, कोमल भट्ट
कतै मस्ती कतै पीडा,कतै बस्छन गुनासाले
कतै भोका कतै प्यासा,कतै रुन् छन निराशाले
सबैको जिन्दगी लाग्यो,कथा उस्तै व्यथा उस्तै
दगुर्दै छन दिनै पिच्छे,सबै ठूला सुखाशाले
कसैको हाँस्छ यो धर्ती,कसैको भो भताभुङ्गै
सयौं नाङ्गा सयौं बुच्चा,भए झुट्टा दिलासाले
बने स्वामी यहाँ कोही,हिजो हिँड्थे भिखारी झैं
जमीनैमा गिरे कोही,दियो धोका निकासाले
बढे लोभी बढे पापी,हरायो सत्य निष्ठा नै
पसे सोझा सिधा मन्मा,लुटे ज्यानै पिपासाले
गरौँ मायाँ सधैं हामी,दुखेका ती अशक्तैमा
छरौं है प्रेम सारामा,मिठा इच्छा र चासाले
ISSS ISSS ISSS ISSS
( बहरे हजज मुसम्मन सालिम)
कोमल भट्ट
(komalpbhatta@yahoo.com)
पुरानो नैकाप,काठमाडौँ
हाल :- न्युयोर्क,अमेरिका