पेरिस भाद्र २९,
इबोला विषाणु (भाइरस) ले मृत्यु तथा आतङ्क फैलाएको भन्ने समाचार सुन्नमा आएको लगभग चार दशक भइसकेको छ तर पनि यो रोग निवारणको औषधि उत्पादन गर्ने कुरामा पैसा नै सबैभन्दा प्रमुख बाधा रहेको विशेषज्ञहरूले बताएका छन् ।
यस रोगको नराम्रो नाम भए पनि यो रोग गरिब अफ्रिकी मुलुकमा छोटो समयका लागि अकस्मात देखिने घटना भएको छ ।
सानो क्षेत्र तथा गरिब बजार भएकाले ठूला औषधि उत्पादकका लागि यो रोगको औषधि उत्पादन आफैँमा कम प्राथमिकतामा परेको छ । त्यसै पनि यस्तो रोग उपचारका लागि औषधि वा खोप तयार गर्न दशौँ लाख अमेरिकी डलर लाग्ने गर्छ ।
वर्षौँसम्म न्यून प्रगति भए पनि हाल अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागन प्रमुख कोष प्रदायक भएकाले इबोलाविरुद्धको खोपको खोजीले उच्च गति प्राप्त गरेको छ र नाफाको उद्देश्य हालका लागि पछि परेको छ ।
लन्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल मेडिसिनका निर्देशक प्राध्यापक पिटर पियटले हालसम्म पश्चिम अफ्रिकी महामारीको रूपमा रहेको इबोलालाई सार्वजनिक स्वास्थ्यको समस्याको रूपमा नलिइएको र कमै देखिने रोगको रूपमा लिइने गरिएको बताउनुभयो । उहाँले सन् १९७६ मा इबोला विषाणु पत्ता लगाएका थिए ।
उनले एएफपीलाई पठाएको एक इमेलमा यस रोगका विषयमा औषधि उत्पादक संस्थामा मात्र होइन सबैतिर कम अभिरुचि देखिएको उल्लेख गरेका छन् ।
उनले हाल अवस्थामा परिवर्तन भएको र दुई प्रमुख कम्पनी ग्लाक्सोस्मिथक्लाइन तथा जोनसन एन्ड जनसन सब्सिडियरीले यस क्षेत्रमा लगानी गरिरहेको बताए ।
फ्रान्सको पास्चर इन्टिच्युटको भाइरल ह्याम¥याजिक फिभर्स रिफरेन्स सेन्टरका सिल्भियन बेइजले गत ४० वर्षमा यस रोगबाट दुई हजारभन्दा कम व्यक्तिको मृत्युभएको जानकारी दिए । उनले अन्य रोगको तुलनामा यस रोगले कमै व्यक्तिको मृत्यु गराएको उल्लेख गरे ।
उनले औद्योगिक मुलुकमा दुई हजार व्यक्तिको मृत्यु भएको भए अवस्था फरक हुने र अफ्रिकाको मध्यभागमा दुई हजार व्यक्तिको मृत्यु भएकाले कसैले पनि ध्यान नदिएको बताए ।
इबोलाको असाधारण घातकताका कारण पनि यो रोग अनुसन्धानका लागि प्रमुख लक्ष्य नबनेको उनले बताए ।
उनले यस विषाणुलाई अनुसन्धान गर्न उच्च सुरक्षायुक्त पी४ प्रयोगशाला आवश्यक पर्ने र यस्तो प्रयोगशाला विश्वमा निकै कम रहेको बताउनुभयो । उहाँले यस्तो अनुसन्धान गर्नसक्ने व्यक्ति पनि कम रहेको बताए ।
अफ्रिकाका पश्चिमी भागका चार मुलुक गिनी, लाइबेरिया, नाइजेरिया तथा सियरा लोनमा यो रोग महामारीको रूपमा फैलिएकाले यो रोग समाचार बनेको छ । यसले हालसम्म दुई हजार चारसय व्यक्तिको मृत्यु गराइसकेको छ र तीमध्ये आधाको पुष्टि भएको छ ।
यस रोगका कारण सामाजिक विस्थापन तथा आर्थिक अवरोध सिर्जना भएको छ । यसैगरि यो रोग छिमेकी मुलुक तथा युरोपमा पनि फैलनसक्ने आशङ्का गर्न थालिएको छ ।
दुई बिरामीको उपचार तथा दुई खोपको विकासपछि पनि यस रोगविरुद्धको उपचार अझै पनि आरम्भको परीक्षणको अवस्थामा रहेको देखिएको छ । यस अवधिमा यी उपचारले काम गर्नसक्छ वा सक्दैन वा यी सुरक्षित छन् वा छैनन भन्ने विषयमा अध्ययन भइरहेको छ ।
अगस्त १२ का दिन संयुक्त राष्ट्र सङ्घको विश्व स्वास्थ्य सङ्गठनले परीक्षणमा रहेका यी औषधिलाई उपयोग गर्न अनुमति दिएको छ । इबोला सङ्कटको समयमा तथा हालसम्म कुनै पनि उपचार तथा खोप नभएको अवस्थामा यी औषधिलाई उपयोग गर्नदिनु नीतिगत हुुने दाबी यस संस्थाले गरेको छ ।
यस औषधिलाई तीन चरणमा पशुमा प्रयोग गरेपछि मानवमा परीक्षण गर्ने कुरामा पनि निकै वर्ष लाग्नसक्छ र यसमा निकै सावधानी लिनुपर्छ ।
सेप्टेम्बर ५ मा डब्लुएचओले यो खोप नोभेम्बरमा अग्रपङ्क्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरूका लागि उपलब्ध हुनसक्ने आशा व्यक्त गरेको थियो ।
यदि हालको द्रुत परीक्षण प्रक्रियाले नतिजा निकाले पनि अर्को प्रश्न उभिएको छ – कसले यो औषधि उत्पादन गर्ने र वितरण गर्ने ?
किङ्ग्स कलेज लन्डनका जैविकनीतिका विशेषज्ञ एनिट रिडले इबोला वास्तवमा नाफा कमाउने उद्देश्य हुननसक्ने रोग भएकाले सार्वजनिक कोष, लोकोपकारकारी तथा संस्थागत दाताले यसका लागि कोष उठाउनुपर्ने बताए ।
पियटले यस रोगको उपचार वा खोप प्रभावकारी भएको कुरा स्थापित भएपछि रोग पुनः देखा पर्नसक्ने अफ्रिकी मुलुकमा यसको भण्डार स्थापना गर्नुपर्ने बताए ।
उनले यस्तो कुरामा अन्तर्राष्ट्रिय समुदाय तथा दातृनिकायले डब्लुएचओको नेतृत्वमा कोष उपलब्ध गराउनसक्ने बताए ।
युएस नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्टियस डिजिजका निर्देशक एन्थोनी फसीले ठूला औषधि निर्माता संस्थाले यस सङ्कटको स्तर हेरी यसमा भूमिका खेल्नसक्ने आशा बढेको बताए ।
उनले यसअघि यसको कुनै अभिप्रेरणा नभएको तर हाल सबैले यसलाई ठूलो समस्या देखेकाले थप कम्पनी यसमा संलग्न हुनसक्ने बताए ।
गरिब मुलुकमा खोप उपलब्ध गराउन निजी तथा सार्वजनिक सझेदारीमा स्थापना भएका गाभी एलायन्सका प्रमुख सेथ बर्कलीले नाफा कमाउने उद्देश्यलाई बलियो बनाउने अन्य उपाय पनि भएको बताए ।
उनले प्रत्यक्ष रूपमा खोप प्रविधि हस्तान्तरण गर्न सकिने, यस्तो खोप बनाउने कम्पनीलाई कोष उपलब्ध गराउन अभिप्रेरणा दिन सकिने, व्यवसाय गर्न सजिलो बनाउन बजारको बचनबद्धता तथा केही अनुदान दिन सकिने वा लामो समयसम्म यो खोप खरिद गरी अभिप्रेरणा दिन सकिने बताए ।
उनले यस्तो काम छिटो गर्न अन्य अनेकौँ उपाय भएको बताए । रासस/एएफपी: