बाध्यताको फाइदा उठाउदै, गर्भपतन गर्न १९ हजार I

इलाम भाद्र १५,

दुई सन्तानमा चित्त बुझाएका इलामका एक दम्पतीलाई अर्को सन्तानको रहर थिएन । तर, भइदियो उल्टो ! नचाहँदा-नचाहँदै गर्भ रहेपछि पतिपत्नीबीच सहमति भयो-सुरक्षित गर्भपतन गराउने । त्यसनिम्ति उनीहरुले भरपर्दो ठाउँ रोजे, इलाम अस्पताल ।

जहाँ उनीहरु दुई महिनामा लगातार चारपल्ट धाउनुपर्‍यो । त्यसबीच उनीहरुले झेलेको आर्थिक र मानसिक पीडा अत्यासलाग्दो छ। अस्पतालको मातृशिशु स्वास्थ्य क्लिपनकमा एक हजार रुपैयाँ तिरेपछि गर्भपतन गरिन्छ । त्यो दम्पती पनि सस्तोमा भरपर्दो सेवा लिन जेठमा क्लिनिकमा पुग्यो, जहाँ सरकारी नर्सको ड्युटी हुन्छ । दुई महिनाको गर्भ बोकेकी महिलालाई स्वास्थ्य परीक्षण गर्नासाथै नर्सले भनिदिए, ‘बच्चा ठूलो छ, पैसा धेरै लाग्छ।’

गर्भपतनको निष्कर्षमा पुगेका दम्पतीले बढ्दो बच्चा पेटमा राखेर घर फर्किने सोचेनन् । सरकारी नर्सको सल्लाहबमोजिम उनीहरुले तोकेकै रकम बुझाए । नर्सहरुले ‘एक हजार इन्ट्री फी’ र ‘१८ हजार औषधि’को भनेर १९ हजार रुपैयाँ बुझे । गर्भपतन गराउने औषधि ‘दार्जिलिङबाट ल्याएकाले महँगो पर्ने,’ नर्सको भनाई थियो । समस्यामा परेका दम्पतीले ऋण काढेर पैसा बुझाए । औषधि लिएर फर्के । ‘औषधि खाएको दुई चार दिनमै गर्भपतन हुन्छ भनेका थिए तर दुई हप्तासम्म केहीभएन,’ परिचय खुलाउन नचाहने ती पतिले सुनाए, ‘नर्सले भनेजस्तो गर्भ नगएपछि १५ दिनमा फेरि अस्पताल गयौँ ।’

पहिल्यै १९ हजार बुझेका नर्सहरु ती दम्पती देख्नासाथ हच्किए । फेरि औषधि थमाए र उही कुरा गरे, ‘अब दुई चार दिनमै काम हुन्छ ।’ उनीहरु फर्किए फेरी १५ दिन बित्यो, गर्भ गएन । तेस्रो पटक पनि त्यही समस्या दोहोरीयो र अन्तमा चार पटक अस्पताल जाँदा पनि उनीहरुको सही उपचार नभएपछि उनीहरुलाई अस्पताल वाडमा सारियो र डा. प्रभु शाहको प्रयासमा उनीहरुको गर्भपतन भयो । बिरामीलाई चार दिन अस्पतालमै राख्नुपर्यो । नागरिक दैनिकबाट :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com