प्रसूति गृहमा स्थापित सामाजिक सुरक्षा सेवा एकाइ एक वर्षमै प्रभावकारी I

काठमाडौँ भाद्र २,

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रमअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा स्थापित सामाजिक सुरक्षा सेवा एकाइ एक वर्षमै प्रभावकारी बन्न पुगेको छ ।

मन्त्रालयले जारी गरेको सामाजिक सेवा एकाइ स्थापना तथा सञ्चालन निर्देशिका २०६९ अनुसार लक्षित समुदायलाई समतामूलक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मुलकभरका आठ केन्द्रीय अस्पतालमा त्यस्ता एकाइ स्थापना भएका छन् । अस्पतालमा सेवा लिन आउने गरिब तथा अति गरिब, असहाय, अपाङ्ग, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित र महिला स्वास्थ्य स्वयम्सेविकालाई सेवा पु¥याउन गत साल भदौमा सो एकाइ स्थापना गरिएको अस्पतालका निर्देशक प्रा डा पुष्पा चौधरीले बताइन् ।

अस्पतालले दिने सेवाबाहेक स्थापनाको वर्ष दिनमै एकाइमार्फत लक्षित समुदायका २१३ व्यक्तिलाई रु तीन लाख ५३ हजार ५३० बराबरको पूर्ण तथा आंशिक छुटको उक्त सेवा प्रदान गरिएको बताइएको छ । एकाइमार्फत गरिब र अशक्तलगायतलाई निःशुल्करूपमा प्रभावकारी सेवा प्रदान गर्न क्याप नेपाल गैरसरकारी संस्थामार्फत पाँच कर्मचारीलाई बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म काम गर्ने गरी नियुक्त गरिएको एकाइ प्रमुख रानु थापाले जानकारी दिए ।

लक्षित समूहका बिरामीको पहिचान गरी एकाइले निर्देशिकाले तोकेबमोजिम रु १० हजारसम्मको सेवा पु¥याउँदै आएको र यसरी सेवा लिनेमध्ये अति गरिब तथा गरिब वर्गका बिरामी सबैभन्दा बढी भएको अस्पतालका शाखा अधिकृतसमेत रहनुभएकी थापाले बताइन् । सो सेवा प्रदान गर्न अस्पतालका सेवाग्राहीबाट चिकित्सकले लक्षित समूहमा पर्ने बिरामीको सत्यतथ्य बुझेर एकाइमा पठाउने र उनीहरूलाई आवश्यक पर्ने खाना, लत्ताकपडा, औषधि तथा प्रयोगशाला परीक्षणसमेतको सेवा निःशुल्क उपलब्ध गराइने गरेको उनले जानकारी दिइन् ।

एकाइले लक्षित समूहका बिरामीलाई प्रदान गर्ने सेवाबाट आर्थिक रूपमा कमजोर र बेवारिसे अवस्थामा रहेका बिरामीले समेत राहत महसुस गर्दै आएका छन् । दैनिक ४५० भन्दा बढी बिरामी आउने सो अस्पतालमा अधिकांश मध्यम र निम्न वर्गका बिरामी छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com