भाद्र २,
लाइबेरियाको मोन्रोभियास्थित इबोला उपचार केन्द्रलाई एउटा समूहले लुटेको छ । लुटपाटपछि त्यहाँ उपचार गराईरहेका १७ बिरामी भागेका छन् ।
राजधानी मोन्रोभियाका बासिन्दाले शहरमा इबोलाको संक्रमण नभएको भन्दै विरोध गरेका छन् ।
शहरको घना जनसंख्या भएको पश्चिमी इलाकामा सयौं मानिसले ‘यहाँ इबोला छैन’ भन्दै नाराबाजी गरेको समाचारमा जनाइएको छ । लाइबेरियाका स्वास्थ्य सहायक मन्त्री टोलबर्ट नभेस्वाहले बाहिरबाट ल्याएर राजधानीमा इबोलाको उपचार गरिएको भन्दै प्रदर्शनकारीले नाराबाजी गरेको बताए ।
टोलबर्टका अनुसार उपचार केन्द्रमा आक्रमणपछि २९ बिरामीको जोन एफ केनेडी मेमोरियल मेडिकल सेन्टरमा बनेको प्राथमिक उपचार भैरहेको छ ।
प्रत्यक्षदर्शीका अनुसार १७ बिरामी भागेका थिए भने अन्य १० जनालाई उनीहरुका आफन्तले लगेका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार लाइबेरियामा इबोला भाइरसको संक्रमणका कारण ४ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने सम्पूर्ण अफ्रिकी देशमा गरी ११४५ जनाको मृत्यु भइसकेको छ ।
एजेन्सी :