मातृशिशु मृत्युदर घटाउन सरकार प्रतिबद्ध - मन्त्री खगराज अधिकारी I

काठमाडौँ भदौ २,

स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले मातृशिशु मृत्युदर घटाउन सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको आज काठमाडौंमा आयोजित ५५आँै जन्मोत्सव समारोहमा मन्त्री अधिकारीले विश्व सहस्राब्दि लक्ष्यअनुसार मातृशिशु मृत्युदर घटाउन सरकार प्रतिबद्ध रहेको बताउँदै सीमित साधनस्रोतका बाबजुद प्रसूति अस्पतालले हासिल गरेको उपलब्धि उत्साहजनक भएको चर्चा गरे ।
 
गुणस्तरीय स्वास्थ्य सेवा सुलभ रुपमा जनतासमक्ष पु¥याउने सरकारको नीति तथा कार्यक्रमअन्तर्गत अस्पतालले मातृशिशु स्वास्थ्य सेवा प्रदान गर्दै आएको कार्यको प्रशंसा गर्दै मन्त्री अधिकारीले हरेक चिकित्साकर्मीले आफ्नो खुवी व्यवहारमा देखाउनुपर्ने बताए  । समारोहमा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. लिन अङ्गले प्रसूति गृहले जनतालाई सेवा पु¥याई मातुशिशु मृत्युदर घटाउन हासिल गरेको उपलब्धिको प्रशंसा गरे । उनले अस्पताललाई सङ्गठनको सहकार्यमा अनुसन्धान केन्द्र बनाउन आफूले पूर्ण सहयोग गर्ने वचन पनि दिए ।


स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. सेनेन्द्रराज उप्रेतीले हाल प्रसूति सेवा लिने जनताको चापलाई मध्यनजर गरी अस्पतालका सेवालाई काठमाडौँ उपत्यकाका ललितपुर र भक्तपुरमा समेत विस्तार गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपालको स्वास्थ्य क्षेत्रमा भारतले विगत लामो समयदेखि विभिन्न सहयोग गर्दै आएको र उक्त सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे । समारोहमा अस्पतालका निर्देशक प्रा. डा. पुष्पा चौधरीले अस्पतालको वर्तमान अवस्थाबारे जानकारी गराउँदै अस्पतालमा आवश्यक जनशक्ति र स्रोतसाधनको कमी रहेको बताइन् । उनले ललितपुरको भैँसेपाटीमा प्रसूति कक्ष सुरुवात प्रक्रिया अघि बढेको जानकारी गराउँदै विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा अस्पतालमा अनुसन्धान केन्द्र बनाउन प्रस्ताव दर्ता गरेको जानकारी दिइन् ।
 
अस्पतालका कन्सल्टेन्ट पिडियेट्रिसियन डा. धनराज अर्यालले सरकारले ‘आमा सुरक्षा कार्यक्रम’ अन्तर्गत आमालाई यातायात खर्चबापत केही रकम सहयोग गर्दै आएको भए पनि शिशुलाई औषधि खर्चबापत केही पनि दिन नसकिएको गुनासो गरे । कार्यक्रममा शिशु प्रदर्शनीमा भाग लिई सफल भएका जन्मेदेखि ४५ दिनसम्मका शिशु अविरल राजभण्डारी, बेबी केसी, दिया खनाल र अर्पणा केसी तथा ४६ दिनदेखि छ महिनासम्मका शुभश्री खड्का, अनमोलकुमार झा, रोनिक थापा र सङ्गम श्रेष्ठलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी, छ महिनादेखि एक वर्षसम्मका सक्षम महर्जन, सफल महर्जन, इसान थापामगर र आयूष ढकाल पनि पुरस्कृत भएका थिए । ती शिशुलाई स्वास्थ्य, सरसफाइ, आमाको हेरचाहलगायतका आधारमा छनोट गरिएको थियो । वार्षिकोत्सवमा अस्पतालमा लामो समयसम्म सेवा पु¥याएका थुप्रै कर्मचारीलाई सम्मान गरिएको थियो । रासस :
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com