यजित समुदाय थातथलो छाड्दै I

इर्बिल श्रावण २७ ,

इराकको उत्तरी क्षेत्रमा बसोबास गर्ने अल्पसंख्यक याजिदी समुदायका सामु अहिले कठिन तीन विकल्प मात्र छन्- मृत्यु, इस्लाम धर्म अपनाउने या जेलमा सड्ने। उनीहरूले आफ्नै विकल्प रोजेका छन्, थातथलो छाडेर कठोर मरुभूमि या विकट पहाडतिर भाग्ने। चरम भोकमरी र पानीसमेत नपाइने अति दुर्गम र बिरानो भूभागमा उनीहरूको यात्रा सहज भने छैन।

'मैले कुकुरले लुछिरहेका शवहरू देखें, यो संकट मात्र नभई दुर्गति नै हो,' लडाकुबाट बच्न कठोर यात्रामा निस्केका उक्त समुदायका एकले सीएनएनसँग भने। कुर्द समुदायका सन्तती तथा प्राचीन पि्र-इस्लाम धर्मका अनुयायी याजिदीहरू इराकमा सानो संख्यामा छन्। इस्लाम धर्ममा परिवर्तन हुन आईएसआईएस लडाकु समूहले उनीहरूमाथि दबाब तीव्र पारेको छ। नमान्नेले ज्यानै गुमाउनुपर्छ। उनीहरू जीवन गुमाउन चाहँदैनन्। सोही कारण लडाकुको पहुँचबाट टाढा जान थालेका हुन्। 

३३ वर्षका तारिक नामक युवकलाई लडाकुले खबर पठाए, 'इस्लाम कबुल गर, घरमै बस र आईएसआईएसमा आवद्ध होऊ, अन्यथा मर्न या जेलमा सड्न तयार होऊ।' तीन महिला र चार सन्तानका अभिभावक उनीसँग अर्को विकल्प बाँकी थियो, थातथलो छाडेर अनिश्चित भविष्यको यात्रामा निस्किने। उनले त्यसै गरे। अन्तिम विकल्प रोज्नेमा तारिक एक्ला छैनन्, २० हजारभन्दा बढी याजिदी परिवारले पनि त्यसै गरेका छन्। लडाकुले २४ घन्टाभित्र आफ्नो सर्त मान्न या आक्रमणको सामना गर्न धम्की दिएपछि गाउँ छाड्न बाध्य भए। मरुभूमिको यात्रापछि सिन्जर पहाडको विकट स्थानमा पुगेका छन्।

अबदी नयाँ प्रधानमन्त्री

यसैबीच, इराकी राष्ट्रपति फौद मसुमले उपसभामुख हैदर अल-अबदीलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्। अधिकारीहरूका अनुसार उनी सिया पार्टीबाट प्रधानमन्त्री मनोनीत भएका हुन्। जसले, वर्तमान प्रधानमन्त्री नुरी मलिकीलाई विस्थापित गरेका छन्। तर, मलिकीले आफू तेस्रो कार्यकालका लागि पदमा कायमै रहने अडान छाडेका छैनन्। मलिकी समर्थक सुरक्षाकर्मीले राजधानी बग्दादमा गस्ती तीव्र बनाएका छन्। उत्तरी क्षेत्रमा सक्रिय लडाकु समूहको ज्यादती बढ्दै जाँदा त्यहाँ बसोबास गर्ने कुर्द समुदायले अन्तर्राष्ट्रिय सैन्य सहायताका लागि आह्वान गरिसकेको छ। यसै सेरोफेरोमा राजधानी बग्दादमा सत्ता परिवर्तन र द्वन्द्व पनि सुरु भएको छ। कुर्दिस्तानका राष्ट्रपति फौद मसुमले टेलिभिजन सन्देशमार्फत् अन्तर्राष्ट्रिय सहायताको आह्वान गरेको धक्का भने निवर्तमान प्रधानमन्त्री मलिकीलाई पुगेको छ। अमेरिकी विदेशमन्त्री जोन केरीले सोमबार सबेरै थप तनाव उत्पन्न नगर्न मलिकीलाई आग्रह गरेका थिए।त्यसअघि सर्वोच्च अदालतले मलिकीलाई प्रधानमन्त्री पदमा कायम राख्न आदेश दिएको थियो।

बग्दादमा सुरक्षाकर्मी बढे

बढ्दो मानवीय संकट र आईएसआईएसको त्रासका बाबजुद बग्दादमा सुरक्षाफौजको उपस्थिति बाक्लिएको छ। लडाकुको त्रासका कारण बग्दादकै बासिन्दा पनि सिरियातर्फ भाग्न थालेका छन्। अमेरिकी लडाकु विमानको गस्ती बढेको छ। राजनीतिक तनावका कारण तत्काल स्थिर सरकार प्राप्त हुने सम्भावना देखिएको छैन। शक्तिराष्ट्रको गहन संलग्नताकै अवस्थामा इराक फर्किंदै गएको आभास हुन्छ। निवर्तमान प्रधानमन्त्री मलिकी र नवनिर्वाचित राष्ट्रपति मसुमबीचको द्वन्द्वले इराकलाई चरम संकटतिर इराकलाई डोर्‍याएको छ। 'मलिकी पछि हट्न तयार देखिँदैनन्, उनी आफूप्रति आस्थावान् सुरक्षाकर्मी र सैन्य एकाइहरूलाई समेत परिचालन गरिरहेका छन्, सडकमा बख्तरबन्द गाडीहरू देखिन्छन्,' अमेरिकी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल रिक फ्रान्कोनाले भने। उनको भनाइमा राष्ट्रपति र प्रधानमन्त्रीबीचको द्वन्द्वले सुखद् भविष्यको संकेत गर्दैन।

लडाकुविरुद्ध हवाई आक्रमण

धम्की र त्रास बढेपछि अमेरिकी सेनाले आईएसआईएस लडाकुविरुद्ध नयाँ चरणको हवाई आक्रमण थालेको छ। अमेरिकी लडाकु जहाजले आइतबार लडाकुका ५ वटा आधार स्थलमा ५ पटक आक्रमण गरेको थियो। लडाकुका हतियारबन्द गाडी र मोर्टार ध्वस्त बनाइएको अमेरिकी सेनाको केन्द्रीय कमान्डले जनाएको छ। अमेरिकी आक्रमणमा शनिबार ४५ लडाकु मारिएको इराकी अधिकारीहरूले जनाएका छन्। राष्ट्रपति बाराक ओबामाले गत साता इराकी लडाकु समूहविरुद्ध आक्रमण थाल्न अमेरिकी सेनालाई निर्देशन दिएका थिए। लडाकु समूहद्वारा सताइएका अल्पसंख्यक इराकी जनता र कुर्दिस्तानको क्षेत्रीय राजधानी इर्बिलस्थित अमेरिकी केन्द्रको सुरक्षाका लागि आक्रमण अनिवार्य रहेको ओबामाको भनाइ थियो। सीएनएन/बीबीसी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com