मुम्बई श्रावन २०,
१४ वर्षअघि निर्माण भएको चलचित्र 'रिफ्युजी'बाट बलिउडमा डेब्यु गरेकी बलिउड अभिनेत्री करिना कपुरले यस अवधिमा ठूलो उपलब्धि हासिल गरेकी छन्। उनको सफलता र क्रेजले धेरैलाई लोभ्याउँछ।
राम्रो चलचित्र चयन गर्ने, आफ्नो लक्ष्य र उद्देश्यबाहेकका कुरामा ध्यान नदिने र सधैं मेहनत गर्ने बानीले उनलाई सफलताको उचाइमा पुर्याएको हो।
बलिउडमा विभिन्न व्यक्तिसँग नाम जोडिए पनि सैफ अलि खानसँगको प्रेमलाई साकार बनाउँदै करिना विवाहबन्धनमा बाँधिएको निकै भइसकेको छ। तापनि उनलाई अहिले चलचित्रको खाँचो छैन।
समाचारस्रोतका अनुसार हालै उनले ६ वटा चलचित्रको प्रस्ताव अस्वीकार गरेकी छन्। करिना थोरै तर राम्रो चलचित्रमा काम गर्न चाहन्छिन्। अन्तर्वार्तामा क्रममा ३४ वर्षीया करिनाले राम्रो स्क्रिप्टमात्र स्वीकार गर्ने स्पष्ट पार्दै एकपटकमा एक वा दुईवटा मात्र चलचित्रमा काम गर्ने बताएकी छन्।
आफूले अभिनय गर्ने चलचित्र वर्षकै सर्वश्रेष्ठ होस् भन्ने चाहना उनको छ।
हुन त हरेक कलाकारमा यस्तै चाहना हुन्छ तापनि सबैलाई त्यो अवसर जुट्दैन। संयोग भनौं वा भाग्य, विवाहअघि होस् वा पछि- करिनाले भने छानीछानी चलचित्रमा अभिनय गर्ने मौका पाएकी छन्। करिना र अजय देवगनको मुख्य भूमिका रहेको चलचित्र 'सिंघम रिटर्न्स अहिले प्रदर्शनको तयारीमा छ। उनी यस चलचित्रको प्रवर्द्धनमा जुटेकी छन्। यो चलचित्र १५ अगस्टमा रिलिज हुने बताइएको छ। -एजेन्सी: