आज जनै पूर्णिमा अर्थात् रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा आज हिन्दू धर्मावलम्बीहरुले जनै र रक्षा बन्धन धारण गर्दछन् ।
ऋषि तर्पणीका नामलेसमेत चिनिने यस दिन विहान नुहाई धुवाई गरी सप्तऋषिलाई तर्पण दिने गरिन्छ ।
यस्तै ब्राह्मणद्वारा वैदिक मन्त्रोच्चारणसहित सेचन गरिएको रक्षा बन्धन धारण गर्ने गरिन्छ ।
तागाधारीहरुले गोवर, माटो, कुस लगाएर पवित्र जलाशयमा गई स्नान गर्ने र अपमार्गले दाँत माझेपछि पञ्चगव्य खाएर नयाँ जनै फेर्ने गर्दछन् ।
यस पर्वमा रसुवाको गोसाईकुण्ड, मणिचूड दह, पाटनको कुम्भेश्वर मन्दिरलगायतका तीर्थ स्थलमा भब्य मेला लाग्ने गर्दछ ।
जनै पूर्णिमालाई उपत्यकाका नेवार समुदायले गुंपुन्ही वा क्वाँटी नखः भन्ने गर्दछन् । यस दिन ठूलो केराऊ, सानो केराऊ, भटमास, सिमी, बोडी, मास, मुंग, चना, मस्याङ लगायत नौ थरिका गेडागुडी मिसाएको क्वाँटी पकाएर खाने गरिन्छ । by,NB: