बालमृत्युदरमा कमी ल्याउन, साउन १६ देखि २२ गतेसम्म विश्व स्तनपान मनाइँदैछ I

काठमाडौँश्रावन १७,

बच्चा जन्मेको एक घण्टादेखि छ महिनासम्म आमाको दूध मात्र खुवाउनाले बालमृत्युमा १३ प्रतिशतले कमी ल्याउन सकिन्छ भने उपयुक्त पौष्टिक खाना खुवाउनाले बालमृत्युमा थप छ प्रतिशत कमी ल्याउन सकिने अध्ययनले देखाएको छ । 

नेपाल स्तनपान प्रवद्र्धन मञ्चको तथ्याङ्कअनुसार करिब ५० प्रतिशतदेखि ६० प्रतिशतसम्म पाँच वर्षमुनिका बच्चाको मृत्युदर निम्नस्तरको स्तनपान र अपर्याप्त खानाका कारणले भएको उल्लेख छ । नेपाल जनसाङ्ख्यीक स्वास्थ्य सर्वेक्षण २०११ अनुसार करिब ९९ प्रतिशत महिलाले आफ्ना बच्चाहरूलाई स्तनपान गराउने गर्दछन् । 

उक्त तथ्याङ्कअनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने सङ्ख्या ४५ प्रतिशत मात्र छ भने शिशु जन्मेको एक दिनभित्र स्पतनपान गराउने सङ्ख्या ८५ प्रतिशत छ । सोही अध्ययनबाट स्पतपान गराउनुअघि नवजात शिशुहरूलाई घ्यू, मह, चिनी चटाउने २५ प्रतिशत छ । जन्मेदेखि छ महिनासम्म पूर्ण स्तनपान गराउने सङ्ख्या ७० प्रतिशत रहेको छ । 

शिशु जन्मेदेखि एक महिनासम्म पूर्ण स्तनपान गराउने सङ्ख्या भने ८८ प्रतिशत रहेको छ भने दुईदेखि तीन महिनासम्मको ७४ प्रतिशत ममहिलाले स्तनपान गराउने गर्दछन् । शिशु चारदेखि पाँचमहिना उमेर समूहमा स्तनपानको स्थिति हेर्ने हो भने ५३ प्रतिशतले मात्र स्तनपान गराएको देखिन्छ । शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने एक प्रतिशत मात्र छ । सो सर्वेक्षणअनुसार आमाले शिशुलाई स्तनमान नगराउँदा शिशुहरूको पोषण स्थितिमा असर पर्ने उल्लेख गरेको छ । 

उक्त सर्वेक्षण प्रतिवेदनले पाँच प्रतिशतभन्दा कम उमेरका बालबालिकामा उमेरअनुसार कम उचाइ (पुड्को पन) ४१ प्रतिशत, उमेरअनुसार कम तौल (दुब्लोपन) २९ प्रतिशत, उचाइअनुसार कम तौल (ख्याउटेपन) ११ प्रतिशत देखाएको छ । शिशुलाई स्तनपान नगराउँदा अन्य दूध तथा खाना खुवाउनुपर्ने हुन्छ । यस किसिमले शिशुहरूलाई शिशिबाट दूध खुवाउनाले कतिपय आमाहरूले सरसफाइमा पनि ध्यान दिन नसक्दा झाडापखाला, श्वास प्रश्वासजस्ता समस्या हुने गर्दछ र अकालमा मृत्यु समेत हुने गर्दछन् । 

पोषणको स्थितिमा सुधार नभई बाल मृत्युदरमा कमी ल्याउन सकिने सम्भावना न्यून छ । त्यसका लागि शिशु जन्मेदेखि छ महिनासम्म स्तनपान मात्र गराउँदा पनि धेरै किमिसका रोगबाट बचाउन सकिने उल्लेख छ । नवजात शिशुलाई जन्मेको एकघण्टाभित्र आमाको बिगौती दूध खुवाउनपर्छ भने छ महिनासम्म आमाको दूध मात्र र छ महिनादेखि कम्तीमा दुई वर्षसम्म आमाको दूध र अन्य पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ । 

बिगौती दूधमा रोगहरूसँग लड्ने प्रतिरोधात्मक तत्व हुने भएकाले यसले बच्चालाई रोगहरूबाट बचाउँछ’ बाल स्वास्थ्य महाशाखाका निर्देशक डा. श्यामराज उप्रेतीले भने, ‘बिगौती दूध बच्चाले सजिलै पचाउन सक्ने र बच्चाको शरीरबाट बिलीरुबीन नामक तत्वलाई निष्कासन गर्न मद्दत गर्ने भएकाले कमलपित्त (जन्डिस) हुन दिँदैन ।’ 

उनले बालमृत्युदर घटाउन एक घण्टाभित्र ४५ प्रतिशत स्तनपान गराउनेमा त्यसलाई शत प्रतिशत पु¥याउनुपर्नेमा जोड दिंदै सरकारले स्तनपानलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । सरकारले कामकाजी महिलालाई दुई महिना सुत्केरी बिदा दिने गरेको छ । यसले गर्दा छ महिनासम्म आमाले शिशुलाई स्तनपान गराउन समस्या भएको छ । केही सम्भ्रात परिवारका महिलाले भने आफ्नो सौन्दर्यता बिग्रने डरले स्तनपान नगराउने पनि गरेको पाइएकोे छ । 

गरिब परिबारका महिलाले पनि दैनिक काम गरेर गुजारा गर्नुपर्ने बाध्यता भएकाले बच्चालाई छ महिनासम्म आमाको दूध मात्र खुवाउन सम्भव भएको देखिँदैन । नेपाल, नर्वे र स्वीडेनमा सुत्केरी महिलालाई दुई महिना छुट्टी दिने गरिन्छ भने बङ्गलादेश छ महिना छुट्टी पाइन्छ । आमाको दूधमा बच्चालाई आवश्यक पर्ने पानी, खनिजजस्त तत्व हुने भएकाले नवजात शिशुका लागि यो अमृत सम्मान हुन्छ । 

आमाको दूध सधैं सफा र सुरक्षित हुन्छ र झाडापखाला तथा श्वासप्रश्वाससम्बन्धी सङ्क्रमणविरुद्व लड्ने प्रतिरोधात्मक तत्वहरू रहेको हुन्छ । स्तनपान गराउँदा सहस्राब्दी विकासका लक्ष्यसमेत पूरा हुने देखिन्छ । सन् २०१५ सम्ममा पूरा गर्ने सहस्राब्दी विकासका लक्ष्यहरूमा बालमृत्युमा कमी ल्याउनु पनि एक हो । यो लक्ष्य भने नेपालले हासिल गरिसकेको छ । 

‘स्तनपान : जीवनको एक अपरिहार्य लक्ष्य’ भन्ने नाराका साथ यस वर्ष साउन १६ देखि २२ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइँदैछ । विश्वमा स्तनपान गराउने विषयमा सन् १९९२ देखि हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताहको रूपमा मनाउन थालिएको छ ।कालिका खड्का, रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com