त्रासदीपूर्ण जंगलको बास I

पहिरोले सुनकोसी थुन्दा जमिन र घरहरू डुब्न
थालेपछि बारीमा छाप्रो हालेर रात कटाउँदै आएका
८१ वषर्ीया कृष्णमाया पहरी र उनकी बुहारी।
धुस्कुन, दावीका करिब ५ सय जना यसरी नै
अग्ला डाँडा र जंगलमा बस्न बाध्य छन्। दायाँ
तस्बिरमा पहिरोले वनसाँघु मावि पुरेर बगर बनेको
धुस्कुन (सिन्धुपाल्चोक), श्रावण २३,

 निन्द्राबाट ब्युँझनेबित्तिकै जंगलछेउको छाप्रोबाट ८१ वर्षीया कृष्णमाया पहरी 'घर कति डुबायो होला?' भनेर तल तालतिर हेर्छिन्। पहिरोले थुनिएको सुनकोसी नदी जमेर बनेको विशाल तालको पूर्वपट्टी रहेको घर पानीमा डुब्न लागेपछि कृष्णमायाको परिवारले डाँडामाथि उक्लेर छाप्रो हाली बास बस्ने मेसो मिलाएको हो।

'बरु त्यही दिन मर्न पाएको भए आनन्दै हुन्थ्यो,' चारैतिर खुला रहेको छाप्रोमा रात कटाउन बाध्य कृष्णमायासँगै रहेकी बुहारी शान्तिले पीडा पोखिन्, 'जंगलको बीचमा छाप्रा बनाएर बस्नुपरेको छ, डर लागेर रातभर आगो बालेरै जागा बस्छौं।'

पहरी, नेवार, खत्री र दलित परिवारका करिब ५ सय जनाको डाँडामाथिको रातको बास त्रसित र कष्टपूर्ण छ। खोला किनारको पानी बढ्दै गएपछि आफ्नो घर जग्गा डरले छाडेर सुरक्षित स्थान खोज्दै विद्यालय, अरूको घरको पिँढी, असुरक्षित छाप्रा र कतिपयले जंगलमै रात कटाउँदै आएका छन्। 'सुत्ने ठाउँसमेत नभएपछि सल्लाघारीको जंगलमा आगो बालेर राट कटाउनु परेको छ,' मनिका पहरीले दुखेसो सुनाइन्। 'पहिरोले दह जमेको दिनदेखि रातभर निद्रा छैन, डरले बच्चा च्यापेर यताउता गरिरहनुपर्छ,' उनले भनिन्, 'यस्ता दिनहरू कहिलेसम्म काट्ने होला।'

बिचल्लीमा परेको चौथो दिनमात्र एक बोरा चामल, दाल र त्रिपाल पाएपछि पेटभरि खान पाएको माझी पहरीले बताए। 'तर उनीहरूको ६ जनाको परिवारले पेटभरि खान ३० केजी चामले कतिदिन धान्ने?' स्थानीय अगुवा मानिने मोहन श्रेष्ठले भने, 'मेरो २२ जनाको परिवारले पनि उही एक बोरामात्र चामल पाएको छ।' आफ्ना सबै घर पहिरोले पुरिएपछि बिचल्लीमा परेको उनले बताए।

 यो बस्तीमा ९ घर बस्न नहुने गरी क्षतिग्रस्त छन् भने ७४ घरका मानिस विस्थापित भएका छन्। स्थानीयवासीको खेतीयोग्य ५ सय रोपनी जति जमिन पनि तालभित्र डुबेपछि सबैको अवस्था नाजुक बनेको उनीहरूले बताए।

खोला किनारमा बालुवा र गिटीको काम गर्ने उनीहरूका लागि किनारा नै नरहने गरी पानी जमेपछि गुजारा गर्ने विकल्पसमेत ठप्प भएको छ। गाउँभरि कसैले सरकारी जागिर खाएका छैनन्। त्यसैले खेती र ज्याला मजदुरी गरेर खाने गाउँ विपत्तिमा परेकाले 'भोकमारीमा परिने' सन्त्रास उनीहरूमा बढेको छ। स्थानीय युवा राजु पहरी भन्छन्, 'खेतीयोग्य जमिन पनि गयो, गरेर खाने खोला किनार पनि ताल बन्यो, यस्तै हो भने भोकमारी फैलन सक्छ।'

पहिरोले घरहरू पुरिनुका साथै जमेको पानीले खेती र घरलाई डुबाउन लागेको दुई दिनसम्म दावी गाउँवासी भोकै बसे। पकाएर खानेकुरा तथा भाँडाकुँडा र बस्ने स्थानको जोहो गरेपछि आधा पेट खाएर गुजार्दै छन्। अन्न पिध्ने घट्टसमेत लगेपछि झन आपतमा परेको उनीहरूले बताए। विस्थापितको संख्या ठूलो भए पनि सरकारले ९ परिवारलाई मात्र सामान्य राहत बाँडेपछि आक्रोश बढेको छ। शुक्रबार पनि राहत बाँडिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए। जताततै समस्या परेकाले पीडितलाई उचित राहत व्यवस्था गर्न कठिन परिरहेको उनले बताए। (इकान्तिपुरबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com