१४ वर्षीया बालिकाको गर्भपतन गराएको आरोपमा अदालतले ३ नर्सलाई ३-३ वर्ष कैद I

राजविराज १० भदौ ,

सप्तरीकी १४ वर्षीया एक बालिकाको गर्भपतन गराएको आरोपमा अदालतले आज तीनजनालाई ३–३ वर्ष कैद सजायको फैसला गरेको छ ।

सप्तरी जिल्ला न्यायाधीश नवराज दाहालको इजलाशले आरोपितहरु सुनसरी भोक्राहा गाविस–६ का ५५ वर्षीय डम्बर यादव, बालिकाकी आमा ४८ वर्षीया बेलीदेवी सुतिहार र राजविराज नपा–७ की ६५ वर्षीया नर्स (परिचारिका) सरोज थापालाई कैद सजयको फैसला सुनाएको हो ।

यादवको करणीको कारणबाट रहन गएको अनिच्छित गर्भलाई अवैध तरिकाले पतन गराउने कार्यमा संलग्न रहेको प्रमाणित हुन आएको भन्दै आरोपितहरुलाई तीन वर्ष कैदको सजाय सुनाएको स्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।

अदालतले बालिकाका हकमा १० दिनको कैद सजाय हुने ठहर गरेको छ । बालिकालाई आरोपित यादवले ललाइफकाई २०६७ चैतमा पटकपटक बलात्कार गरेपछि रहन गएको पाँच महिनाको अनिच्छित गर्भलाई आरोपितहरुले राजविराज नपा–३ स्थित दीपिका लामा फार्मेसीमा २०६८ साउन ३० गते गर्भपतन गराएका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय इनरुवा, सुनसरीले २०६८ भदौ २३ गते बालिकाको स्वास्थ्य जाँच गर्दै गर्भपतन गराएको प्रतिवेदन दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले आरोपित सुनसरीको भए पनि गर्भपतन भएको ठाउँ सप्तरीको राजविराज भएकाले कार्यक्षेत्र सप्तरी परेको भन्दै कारबाहीको मागसहितको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६८ असोज ८ गते पठाएको थियो ।

आरोपितहरुमध्ये यादव २०६८ फागुन ४ गते, बालिका २०६८ माघ २५ गते र बालिकाकी आमा सुतिहार माघ २६ गते सप्तरी जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए । पक्राउ पुर्जी जारी भएकी आरोपित परिचारिका थापा फेला नपरेको भन्दै प्रहरीले हालसम्म तामेली पत्रसमेत बुझाएको छैन । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com