गज़ल : By, कोमल भट्ट



गज़ल : By, कोमल भट्ट  

चाड पर्व नजिकिंदा,आँसु आउँछ परदेशीको
आँगनीमा पिडा मात्रै,सल्बलाउँछ परदेशीको

जताततै घाउ लाग्यो,वियोगले पोल्दा सधैँ
छाती भित्र व्यथै व्यथा,दन्दनाउँछ परदेशीको

छचल्किछन् यादहरू,समुन्द्रका छाल जस्तै
भकानुले अनुहारै,सुँकसुँकाउँछ परदेशीको

खपेको छ शीत,ताप,भोक,प्यास जैले पनि
वेदनाले धैर्यता नै,लड्खडाउँछ परदेशीको

बाध्यता र विवशताले,कुटेकाछन् निरन्तरै
चोट लाग्दा हृदय यो,छट्पटाउँछ परदेशीको

आफ्नू भन्नु कोही छैन,अपरिचित संसारमा
चित्त दुख्छ बारम्बारै,को सम्झाउँछ परदेशीको ?

बिर्से होलान् साथी सँगी,बन्धु बान्धव,आफन्तले
 माया दया गर्दै कस्ले,गीत गाउँछ परदेशीको?

मान्छे यहाँ बसे पनि,हंस पुग्छ नेपालमै
हाँस्न पाउन् नेपालीले,मन् रमाउँछ परदेशीको

कोमल भट्ट 
पुरानो नैकाप,काठमाडौँ 
हाल :- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com