गज़ल :By, कोमल भट्ट


गज़ल :

हृदयका पाना मेरा,धुजा पारी च्यातिएछन्
एकै चिम्टी खुसी पनि,घुर्यानमै फ्याँकिएछन्

ओझेलमा परे सबै,कथा व्यथा जिन्दगीका
वास्तविकता हराएछ,नामनिशान मेटिएछन्

कल्पना र आशा जति,खाक भए डंडेलोमा
मिठा मिठा स्वप्नाहरू,आँसु बनी पोखिएछन्

जबर्जस्ती निल्न खोजे,चकमन्न अँध्यारोले
 विचरा ती जून तारा,बादलुमै छोपिएछन्

गीत गाउँथे रानी चरी,प्रीति छर्दै चौतारीमा
 छैन अब चौतारी त्यो,वरपीपल ओइलिएछन्

बारम्बारै सताएर,पिडा दियो नियतिले
छाती भरि चोट लाग्दा,नशा नशा भाँचिएछन्

बलेको नै आगो ताप्ने,हुँदो रैछ रीत हाम्रो
हिजो मायाँ गर्ने मान्छे,आज अन्तै मोडिएछन्

कसले गन्छ अतीतलाई,लालची यो संसारमा
 त्यसैले त पुराना ती,'कोमल' नजर फेरिएछन्

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
 हाल-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com