साओ पाउलो असार १९ -
अर्जेन्टिनी प्रशिक्षक एलेक्जान्ड्रो साबेलाले आफूले अहिले 'डि्रम फाइनल' का बारेमा नसोचेको टिमको क्वाटरफाइनल यात्रासँगै मंगलबार बताएका छन् । डि्रम फाइनलका रूपमा चिरप्रतिद्वन्द्वी अर्जेन्टिना र घरेलु टिम ब्राजिललाई लिइएको छ । साबेलाले अर्जेन्टिनाले अहिले अघिल्लो खेलभन्दा अरू केही नसोचेको बताए ।
अर्जेन्टिनाले अन्तिम १६ मा स्वीट्जरल्यान्डलाई १-० ले हराउँदै बेल्जियमसँगको भेट पक्का गरेको हो । 'हाम्रो सपना भनेको अर्को खेलका लागि तयारी गर्ने र सेमिफाइनलमा पुग्न खोज्ने हो,' साबेलाले भने,'हामी त्योभन्दा पछि अहिल्यै हेर्न चाहन्नौं । साथै, हामी अघिल्ला कुरा अहिले नै सोचेर गल्ती गर्न चाहन्नौं ।'
अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप जितेको थियो । तर रियो दि जेनेरियोमा प्रतिद्वन्द्वी ब्राजिललाई हराएर उपाधि जिते अर्जेन्टिनी समर्थक धेरै खुसी हुनेछन् । सा
बेलाले बलिया इटाली, स्पेन, इंग्ल्यान्ड र पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेका कारण कुनै पनि टिमलाई कमजोर आँक्न नमिल्ने बताए । 'यो खेल हामीले ९० मिनेटभित्रै जित्नुपर्ने थियो,' उनले भने,'दोस्रो हाफमा हामी निकै उत्कृष्ट थियौं । तर हाम्रो ५/६ मौका सदुपयोग भएनन् ।' उनले अर्जेन्टिनाले बलियो टिमविरुद्ध सुन्दर खेल खेलेको बताए ।
स्वीट्जरल्यान्डविरुद्ध एन्जेलो डि मारियाले थप समयमा गोल गर्दै अर्जेन्टिनाको प्रतियोगिताबाट बाहिरिने सम्भावनालाई पूर्णविराम लगाए । खेल टाइब्रेकरमा लम्किरहेको बेलामा लियोनल मेसीको पासमा मारियाले दोस्रो बार च्यापेर उत्कृष्ट गोल गरेका थिए । (एएफपी)