काठमाडौं श्रावन १४,
ओम रारा फाउन्डेसन मुगु र उद्योग वाणिज्य महासंघका अध्यक्ष एवम् श्रीमदभागवत सप्ताह ज्ञानमहायज्ञ मूल समारोहका संयोजक प्रदीपज· पाण्डेको आयोजनामा स्वास्थ्यको दृष्टिकोणबाट पछाडि परेको मुगुमा अस्पताल निर्माण गर्न श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने भएको छ।
ओम रारा हेल्थ फाउन्डेसनले कर्णाली अञ्चलका जिल्लाहरूमध्ये स्वास्थ्यको दृष्टिकोणबाट पछाडि परेको मुगु जिल्लालाई केन्द्र विन्दु बनाई गम्था गाविसस्थित तलिवगरमा १५ शय्या क्षमता रहेको अस्पताल स्थापना गर्न यही भाद्र १५ देखि २१ गतेसम्म ललितपुर जिल्लाको जावलाखेलमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ हुने जनाएको छ। ज्ञानमहायज्ञको वाचन पण्डित दीनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
फाउन्डेसनका अध्यक्ष खड्गबहादुर शाहीले कर्णाली अञ्चलमा रहेको जिल्लामध्ये मुगु जिल्ला देशकै सबैभन्दा विगट र स्वास्थ्य स्थिति अत्यन्तै दयनीय रहेको, खाद्यान्न अभावले कुपोषण, मातृ तथा शिशुमृत्युदर उच्च रहेको भन्दै सुविधासम्पन्न अस्पतालको आवाश्यकता रहेकोले श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञको आयोजना गर्न लागेको जानकारी दिए ।
फाउन्डेसनका सल्लाहकार एवम् महायज्ञ मूल समारोह समितिका सदस्य वरिष्ठ चिकित्सक डा. भोला रिजालले मुगु सबै दृष्टिकोणले पछाडि परेको भन्दै मुगुको स्वास्थ्य क्षेत्रको विकासका लागि एउटा अस्पतालको आवाश्यकता रहेको बताए । डा. रिजालले २०६९ साल चैत्र २६ गतेदेखि ३१ गतेसम्म ओम् हस्पिटल, ओम रारा फाउन्डेसनलगायत विभिन्न सामाजिक सञ्जालमार्फत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको स्मरण गर्दै महायज्ञको सहयोगमा अस्पताल निर्माण मदत पुग्ने विश्वास व्यक्त गरे ।
श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञका वाचक पण्डित दीनबन्धु पोखरेलले यो महायज्ञ एउटा महाअभियान हुने भन्दै आध्यात्मिक चिन्तनले नेपाली समाजलाई नवीनतम ढंगबाट स्थापित गर्ने र नेपाल र नेपालीको आफ्ना मौलिक धरोहरको संरक्षण गर्ने महत्त्वपूर्ण अवसर भएको उल्लेख गरे । (नेपाल समाचारपत्र)