आज नाग पञ्‍चमी मनाइदै I

काठमाडौंश्रावन १६,

आज श्रावण शुक्ल पञ्‍चमी। सनातन हिन्दुहरूले नागपञ्‍चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरी मनाउँदैछन्। नागलाई पानी र वर्षाका देवता मानिन्छ। जुन घरमा नागको वास हुन्छ त्यहाँ लक्ष्मीको वास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन रहेको छ।

नागपूजा विशेषतः षष्ठीयुक्त पञ्‍चमी तिथि अर्थात (षष्ठी तिथिलाई छोएको पञ्चमीका दिन) गर्नाले नागदेवता खुसी हुने र उदय पञ्चमी तिथिमा नै नागपूजा गर्ने परम्परासमेत रहिआएको बताइन्छ। नागपूजाको प्रचलन वैदिक काल अघिदेखि चल्दैआएको विश्‍वास गरिन्छ ।

    यत्राहिसायिभगवान् यत्रास्त हरिरीष्वरः।
    भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा।।


अर्थात, आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवान्को चित्र टाँसी पूजा गर्नाले वज्र, चट्याङ र आगलागीका साथै सर्प, बिच्छीको भय नहुने धार्मिक विश्‍वास रहेको छ। धार्मिक ग्रन्थहरू गरुण पुराण, स्कन्दपुराण, नारदपुराण, भविष्यपुराण र वराहपुराणमा नागको पूजा, अर्चनाबारेमा उल्लेख भएको पाइन्छ। वैदिक लगायत बौद्ध र जैन धर्मावलम्बीले पनि नागपूजा गर्ने प्रचलन रहेको पाइन्छ।

नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्‌म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको पूजा गरी दुबो, दूध, अक्षता आदि चढाई धूपधुवाँ गर्ने तथा आफ्ना कुलनागका थानहरूमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायतका प्रसाद चढाउने गरिन्छ। नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा घरको मूलद्वारमा नागको चित्र टाँसी पूजा गरेपछि गृहस्थीले क्रमशः नागपूजा गर्ने परम्परा रहेको छ।

नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै चलिआएको छ। शिवले नागको माला लगाउने र विष्णु जलमाथि शेष नागको शय्यामा फणाको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवान्लाई नागका रुपमा मान्‍ने गरिएको छ।

नागपञ्‍चमी कसरी र किन मनाउन थालियो भन्‍ने सम्बन्धमा बिभिन्‍न किसिमका किंवदन्ती प्रचलित छन्। तीमध्ये एउटा प्रख्यात किंबदन्ती यस्तो छ :
एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीन बच्चा भेट्टाए र मारिदिए । ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानदेखि क्रुद्ध भइन् । रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर किसानका श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।

संयोगले किसानकी छोरी घरबाहिर रहेकीले बच्न सफल भइन् । नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिंँडेपछि बाटामा फेला पारी मार्न खोजिन् । किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी “मलाई नमार्नुस्, म तपाईँको पूजाआजा गर्छु र दूध खान दिन्छु” भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छाडिदिइन् । मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्‍न भएकी नागिनीले “तिम्रो भक्तिबाट म प्रसन्‍न भएँ वर माग” भनेपछि किसानकी छोरीले आफ्ना मातापिता र भाइलाई जीवनदान दिनुहोस् भनी वर मागिन् । प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाइदिइन् । नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको जनबिश्वास छ ।

गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्रबर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाएपछि गुरु आएको देखी गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी बर्साएको प्रसङ्ग पनि इतिहासमा उल्लेख छ ।

प्रकृतिमा भएका बिषालु पदार्थलाई नाग, सर्पलगायत जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको वाल्मीकि विद्यापीठका सहप्राध्यापक श्रीराम सापकोटाले बताए ।

यस उपलक्ष्यमा काठमाडौं, नक्सालको नागपोखरी, कर्कोटक नागको बासस्थानको रूपमा परिचित काठमाडौंकै टौदह, ललितपुर धापाखेलको नागदह, भक्तपुरको सिद्धपोखरी, पनौती लगायत अधिराज्यका विभिन्‍न नागदहमा मेला लाग्ने गर्दछ। (स्रोत-आनपुर्न)
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com