काठमान्डू आषाढ २०,
नेपालको पहिलो महिला चिकित्सक हुन्, प्रेमु साह। उनले भारतमा पुगेर सन् १९५८ मा एमबीबीएस पास गरेकी थिइन्। त्यसपछि फाट्टफुट्ट चिकित्सक बन्ने मौका पाए, नेपाली महिलाले। नेपालमा पछिल्लो समय भने छोरीलाई चिकित्साशास्त्र अध्ययन गर्ने, गराउने र सेवामा समर्पित हुने महिलाको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको छ।
नेपाल मेडिकल काउन्सिलको सन् २०१२ को तथ्यांकलाई हेर्ने हो भने १२ हजार पाँच सय ८१ जना चिकित्सक दर्ता भएकोमा चार हजार दुई सय ५९ महिला छन्।
सबैभन्दा धेरै दन्त र स्त्रीरोगको क्षेत्रमा महिला चिकित्सक कार्यरत रहेको तथ्यांकले देखाउँछ। एक हजार दुई सय २२ दन्त चिकित्सक रहेको नेपालमा सात सय १५ जना त महिला नै छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अञ्जनकुमार झा भन्छन्, ‘मेडिकल कलेजमा भएको अध्ययनलाई आधार मान्ने हो भने पछिल्लो समय महिला चिकित्सकको संख्या बढ्दै गएको पाइन्छ।’
विशेषगरी २०४७ सालको संविधानले निजी क्षेत्रलाई प्रोत्साहन गर्दै चिकित्साशास्त्रमा हात हाल्ने मौका दिनु र त्यसले महिलालाई अध्ययन गर्ने र काम गर्ने वातावरण मिलाइदिनुले महिला चिकित्सकको संख्या बढ्दै गएको नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. दामोदर पोखरेल बताउँछन्।
यसो त महिलाका लागि चिकित्सा पेसा सुहाउँदो, सहजसमेत भएकाले पनि यसमा संलग्न हुनेको संख्या बढेको हुन सक्ने अनुमान गर्न सकिन्छ। तिलगंगा आँखा अस्पतालककी वरिष्ठ आँखारोग विशेषज्ञ डा. रीता गुरुङ चिकित्सा पेसा सम्मानजनक र इज्जतदार पेसा भएकाले पनि यसमा महिलाको आकर्षण बढेको बताउँछिन्। परिवार र कार्य क्षेत्रको दोहोरो भूमिका निर्वाह गर्दा पनि महिलामा निराशा नदेखिने र जस्तोसुकै चुनौती पार गर्ने क्षमताले गर्दा महिलाका लागि यो क्षेत्र उत्कृष्ट रहेको नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीको ठहर छ।
चिकित्सा क्षेत्रमा आफूलाई अनुकूल हुने विषय रोजेर अध्ययन गर्न पाइने र त्यसैमा काम गर्न पाइने भएकाले महिलाका लागि यो सहज मानिन्छ। टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालकी पूर्वनिर्देशक डा. मिथिला सिंह चिकित्सा क्षेत्रमा महिला भएकै कारणले सेवासुविधा कम दिने वा अन्य कुनै विभेद गर्ने चलन नभएकाले पनि यो क्षेत्रमा महिलाको लगाव बढेको बताउँछिन्।
प्रतिबद्ध भएर काम गर्न सके महिलाले चिकित्सा क्षेत्रमा थुप्रै अवसर पाउने गरेका छन्। आफ्नो खुट्टामा उभिँदा आत्मविश्वास बढ्नुका साथै आर्थिक हिसाबमा पनि अब्बल भएका छन्। त्यसमाथि पनि चिकित्साशास्त्र प्राविधिक विषय भएकाले उनीहरूको ज्ञान पनि बढ्दै गएको र स्वभाव पनि निडर बन्दै गएको देखिन्छ। संघर्ष गरेर माथि आउनेबित्तिकै महिला चिकित्सकले नाम, दाम त कमाउँछ नै सन्तुष्टिसमेत प्राप्त गर्छन्। ओम अस्पतालका निर्देशक स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल भन्छन्,’चिकित्सा क्षेत्रमा मात्र होइन सबै क्षेत्रमा राम्रो काम गरेर देखाइसकेका छन् महिलाले, उनीहरूको कामको सम्मान हुनुपर्छ।’
स्त्रीरोग विशेषज्ञ एवं स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार स्वास्थ्य महाशाखाकी प्रमुख डा. किरण रेग्मीका अनुसार महिलाले गर्न नसक्ने काम कुनै पनि छैन, तर पनि घरको पनि जिम्मेवारी उत्तिकै महत्त्वपूर्ण भएकाले घरबाहिर रहेर काम गर्न उनीहरूलाई ठूलो चुनौती छ।
चिकित्सा सेवामा रातदिन भन्न नपाइने भएकाले महिलाका लागि समय व्यवस्थापन गर्न अलि समस्या पर्ने गरेको छ। पुरुष सरह क्षमता र दक्षता अनि काममा उही दर्जा भए पनि महिलालाई हेर्ने दृष्टिकोण अझै पुरानै छ। कतिपय बिरामीले अहिले पनि महिलाभन्दा पुरुष चिकित्सकको विश्वास गर्छन्। उपचारका क्रममा सानोतिनो समस्या देखिएमा महिला भएकै कारण दोष लगाउने चलन पनि छ। क्षमता भए पनि नेतृत्वका लागि महिलाले छुट्टै समय दिन नसक्दासमेत पछि परेको पाइन्छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमा कार्यरत डा. सरला मल्ल भन्छिन्, ‘क्षमता भएर पनि लिडरसिपका लागि साथीभाइलाई छुट्टै चिया खुवाउने र भेटघाट गर्ने काममा समय दिनु महिला चिकित्सकका लागि कठिन हुने हुँदा उनीहरू पछि परेको पाइन्छ।
चाँदनी छर्दै चन्दा
डा. चन्दा कार्की
महोत्तरीको किसान परिवारमा जन्मिएर संघर्ष गर्दै चिकित्सा पेसामा लागेकी डा. चन्दा कार्कीले सरकारी सेवामा रहेर भोजपुर, पोखरा, धरान, काठमाडौंमा करिब १४ वर्ष काम गरिसकिन्। विगत १० वर्षयता उनी काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा कार्यरत छिन्। स्त्रीरोग विशेषज्ञको रूपमा सेवा सुरु गरेकी कार्की कलेजको स्त्रीरोग विभाग प्रमुख हुँदै हाल प्रिन्सिपलको रूपमा कार्यरत छिन्।
विवाहअघि मामाबाट र विवाहपछि आफ्नो श्रीमान्बाट मिलेको सहयोगले उनलाई चिकित्सा क्षेत्रको उच्च पदमा मात्र पुर्याएन, बिरामी र विद्यार्थीमाझ पनि प्रिय बनायो। परिवार, समाज र आफू कार्यरत संस्थाको जिम्मेवारी राम्ररी पूरा गर्दै अगाडि बढेकाले नै आफू सफल भएको उनको ठहर छ।
उनका अनुसार महिलाका लागि चिकित्सा पेसा सबैभन्दा उत्तम छ। बिरामीको स्याहार गर्ने र उनीहरूलाई खुसी दिन सकेमा बिरामीले पनि सदैव माया र इज्जत दिने उनी बताउँछिन्। चिकित्सकीय जीवनमा उनले अहिलेसम्म महिला भएकै कारण कुनै त्यस्तो विभेद महसुस गरेकी छैनन्। तर उनलाई राम्रो काम भएमा पुरुषको मात्र प्रशंसा गर्ने र नराम्रो काम भए दोष महिलालाई नै थुपार्ने चलन देख्दा दु:ख लाग्छ।
भरोसा बन्दै आशा
डा. आशा सिंह
वरिष्ठ प्रहरी उपरीक्षक स्त्रीरोग विशेषज्ञ डा. आशा सिंहलाई जति देशको माया लाग्छ त्यतिनै बिरामीको पनि। प्रहरी अधिकृतका साथै चिकित्सक पनि बन्ने उनको इच्छा अन्तत: उनकै मेहनतका कारण पूरा पनि भयो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण गरेपछि २०५२ सालमा उनले नेपाल प्रहरी अस्पतालमा प्रहरी निरीक्षकको रूपमा सेवा सुरु गरिन्। सानै उमेरदेखि आफूमा जिद्दी स्वभाव रहेको उनी बताउँछिन्। डा. सिंह आफूलाई आइपरेका चुनौती तत्काल सामना गर्न सक्ने क्षमता महिला चिकित्सकले विकास गर्नु आवश्यक रहेको बताउँछिन्। आफ्नो हक्की स्वभावका कारण काम गर्ने सिलसिलामा होस् या अन्य कुनै बेला महिला भएकै कारणले आफूलाई कसैले हेप्न नपाएको उनको अनुभव छ।
दिलदार दिव्या
डा. दिव्यासिंह शाह
मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. दिव्यासिंह शाहलाई बाल्यकालमै गरिब र दु:खीको सेवा गर्ने रहर लाग्थ्यो। अध्ययनका क्रममा साथीभाइले छोरी मान्छेले मेडिसिन पढ्न सक्दैन भनेर होच्याएको देख्दा उनलाई पढाइमा झन् प्रेरणा मिल्यो। कलिलो उमेरमा मिर्गौला फेल भएर मृत्युको मुखमा पुगिरहेका बिरामीको दुखेसो सुन्दा उनको मन निकै रुन्थ्यो।
यही कारण उनले नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेरै छाड्ने प्रतिज्ञामात्र गरिनन्, ठूलो संघर्षपछि सफल पनि भइन्। उनकै सक्रियतामा २००८ सालबाट शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम नेपालमै पहिलो पटक सुरु भएको हो। जसले उनको जीवनलाई सार्थक त बनायो नै, नेपालको चिकित्सकीय इतिहासमा एउटा सु:खद दिन थप्यो। क्षमता र दक्षतामा कुनै कमी नभए पनि कामको सिलसिलामा महिला भएकै कारणले कहिलेकाहीँ पछि पर्नुपर्ने अवस्था आएको उनको अनुभव छ।
सक्रिय सुधा
डा. सुधा खकुरेल
मिर्गौला रोग विशेषज्ञ डा. सुधा खकुरेलले २०२८ सालमा वीर अस्पतालबाट सेवा सुरु गरेकी हुन्। उनको समयमा काम जतिसुकै राम्रो काम गरे पनि महिलालाई हेर्ने दृष्टिकोण त्यति राम्रो थिएन। आफ्नो क्षमता अभिवृद्धिका लागि बेलायतमा पुगेर एमआरसीपी गरेकी उनले पुन: नेपाल आएर वीरमै काम थालिन्।
वीर अस्पतालमा उनकै सक्रियतामा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको थियो। झन्डै २८ वर्ष सरकारी सेवामा समर्पित खकुरेल आफू अनकुल नहुँदा अन्तत: सेवानिवृत्त हुने बेलामा जागिर छोड्न बाध्य भइन्। हाल उनी किस्ट मेडिकल कलेज र काठमाडौं अस्पतालमा कार्यरत छिन्। परिवार, छोराछोरी सबैलाई व्यवस्थापन गर्दै चिकित्सकीय पेसा सम्हाल्नु आफैंमा चुनौती भए पनि हिम्मत नहारी अगाडि बढे सफल भइन्छ भन्ने उनको अनुभव छ
दीपा दाहालको प्रस्तुति_अन्नपूर्ण पोस्ट्।