इलाम आषाढ २८,
इलाम अस्पतालमा सञ्चालित दुई दिने निःशुल्क आँखा शिविरमा ९०६ जना आँखाका बिरामीको उपचार गरिएको छ । नेपाल नेत्र ज्योति सङ्घ र इलाम आँखा उपचार केन्द्रको आयोजना तथा मेची आँखा अस्पताल विर्तामोड झापाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा ५०० महिला र ४०६ जना पुरुषले उपचार गराएका हुन् ।
शिविरमा २६ महिला ३२ पुरुष गरी ५८ मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको नेपाल नेत्र ज्योति सङ्घ इलामका अध्यक्ष इन्द्र फुएलले जानकारी गराए ।
बुधबारदेखि सुरू भएको शिविरमा इलाम नगरपालिकासहित चिसापानी, गोदक, पुवामझुवा, नामसालिङ, शान्तिडाँडा, नयाँबजार, साँखेजुङ, जीतपुर, धुसेनी, फाकफोक, बरबोटे, माबु, चमैता, माइपोखरी, सोयाक, सिद्धिथुम्का, जमुना, सुलुबुङ, पशुपतिनगरलगायत छिमेकी जिल्ला पाँचथरवासीले समेत सेवा लिएको अध्यक्ष फुएलले बताए ।
आँखा उपचार गरिएका बिरामीलाई चश्मा र औषधि निःशुल्क वितरण गरिएको थियो । शिविरमा मेची आँखा अस्पताल विर्तामोड झापाका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशी र मेमलाल राजवंशीले आँखाको परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया गरेका थिए ।
शिविर उद्घाटनका अवसरमा नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रमा भारतीय सहयोग जारी रहने बताएका छन् । उनले हालै निर्माण सम्पन्न ५५ शैयाको इलाम अस्पतालमा भारतले सहयोग गर्ने तर त्यसका लागि प्रस्ताव पेस गर्न सरोकारवाला निकायसँग अनुरोधसमेत गरे । रास: