पर्सा, २३ असार ,
वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आजदेखि मिर्गौला रोगीहरुका लागि डायलसिस सेवा सुरु गरिएको छ ।
काठमाडौँको वीर अस्पतालबाट आएका प्राविधिकको सहयोगमा उपक्षेत्रीय अस्पतालले यो सेवा सुरु गरेको हो ।
वीर अस्पतालबाट आएका प्राविधिक मोहन महर्जनको निगरानीमा हेटौँडा नगरपालिका–११ निवासी ५१ वर्षीय जानुका घिमिरेको डायलसिस गरी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ ।
चार वर्षअगाडि स्वास्थ्य मन्त्रालयले दुई थान अत्याधुनिक डायलसिस मेसिन पठाए पनि प्राविधिकको कमीका कारण मेसिन थन्किएर बसेको थियो ।
अहिले एउटा मेसिनको मर्मतसम्भार गरी सेवा सुरु गरेको उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामाशङ्कर ठाकुरले जानकारी दिए ।
उपक्षेत्रीय अस्पतालले सुरु गरेको डायलसिस सेवा निःशुल्क हुने मेसु ठाकुरले बतौ । उनले समान्य प्रक्रियालाई पूरा गरी अस्पतालमा आएका बिरामीलाई हप्तामा दुईपटक निःशुल्क सेवा दिइने बताए ।
बारा, पर्सा, रौतहट, मकवानपुर, सर्लाहीलगायतका जिल्लामा मिर्गौला रोगीको सङ्ख्या बढी रहेकाले एउटा मेसिनले नपुग्ने भई अर्को मेसिन मर्मतका लागि पठाइएको छ ।
मर्मत नभएको खण्डमा नयाँ मेसिनका लागि स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरी माग गरिने मेसु ठाकुरले बताए ।
यस अस्पतालमा डायलायसिस सुरु भएपछि पर्सासँग जोडिएका पाँच जिल्लाका मिर्गौला रोगीहरुलाई चितवन वा काठमाडाँै जानुपर्ने बाध्यता अन्त भएको चिकित्सकले बताएका छन् ।
मिर्गौला रोगीका लागि स्वास्थ्य मन्त्रालयले पाँच लाख ६० हजार रुपैयाँ सहयोग प्रदान गर्दै आएको वीर अस्पतालका प्राविधिक मोहन महर्जनले बताए । रासस: