वीरगञ्ज, ६ साउन ,
बढ्दो गर्मीसँगै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा ‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीको संख्यामा वृद्धि भएको छ ।
अत्यधिक गर्मी बढेकाले उपचारका लागि अस्पताल आउने बिरामीमध्ये दैनिक ४० देखि ५० जनासम्म भाइरल ज्वरोका बिरामी हुने गरेका छन् ।
कमलपित्त रोगको शंकामा साउनको पहिलो सातामा उपचारका लागि अस्पताल आएकामध्ये झन्डै ४० जना रोगीलाई कमलपित्त लागेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रामाशंकर ठाकुर डरलाग्दो किसिमले वृद्धि हुँदै गएको यस्तो रोग लागेको शङ्का हुने बित्तिकै हरेकले चिकित्सकसँग आवश्यक सल्लाह र परामर्श लिनुपर्ने सुझाव दिन्छन् ।
‘भाइरल ज्वरो’ र ‘कमलपित्त’ का बिरामीमात्र होइन, यससँगै झाडापखाला, पेट दुख्ने र ज्वरोको उपचारका लागि अस्पताल आउने बिरामीको चापमा समेत वृद्धि भएको छ डा. ठाकुरले बताए ।
बारा, पर्सा, रौतहट र सर्लाहीका साथै नजिकका भारतीय जिल्लाबाट समेत उपचारका लागि यस अस्पतालमा बिरामी आउने गरेका छन् । यस उपक्षेत्रीय अस्पतालमा २०० शय्या र अस्पताल व्यवस्थापन समितिबाट १०० शय्या गरी कुल ३०० शय्या सञ्चालनमा ल्याइएको छ ।
मौसम परिवर्तनसँगै गर्मीयाममा देखा पर्ने यस्तो रोग विशेषगरी प्रदूषित पानी सेवन गर्नाले हुने गर्छ । अस्पतालका चिकित्सक डा. मनोजकुमार गुप्ता भन्छन्, ‘यस्ता रोगबाट बच्ने सबैभन्दा उपयुक्त र भरपर्दो उपाय नै दूषित खानेकुरा नखानु हो ।’
दैनिक करिब दशदेखि १५ जना बिरामी भाइरल ज्वरो तथा त्यतिकै सङ्ख्या कमलपित्तको उपचारका लागि आफू कहा“ आउने गरेको बताउ“दै डा. अरुणकुमार झाले भने, ‘समय मै आवश्यक पहल र सतर्कता अपनाउन सकिएन भने यसले भयावह रुप लिन सक्छ ।’ यस्ता रोगबाट विशेषगरी ग्रामीण समुदायका बासिन्दा बढी प्रभावित हुने गरेका छन् । रासस: