बाँके श्राउन ५,
भेरी अञ्चल अस्पताल, नेपालगन्जमा जानुभयो भने आपतकालीन कक्षदेखि शौचालय जाने बाटोमा एउटा पर्दाले बारेको बेड देख्नुहुन्छ। जहाँ एकजना अधबैसे महिला काल पर्खेर बसेकी छन्। समयमा न औषधी उपचार न त खाना नै। ती दाङकी ठकुरानी चौधरी दुर्घटनाकी घाइते हुन्।
लमहीमा मोटरसाइकलको ठक्करबाट खुट्टा भाँचिएकी ठकुरानीलाई पतिको उपचार गराउन कोहलपुर शिक्षण अस्पतालमा ल्याए पनि त्यहीं छोडेर भागेका थिए। पति भागेपछि उनलाई सरकारी अस्पताल भेरीमा ल्याइएको थियो। भेरीमा ल्याएको ३ हप्ता भइसक्यो।
बाँके प्रहरीको अनुरोधमा दाङ प्रहरीले ठकुरानीका पतिलाई पठाइदिए पनि उनी नेपालगन्ज आउँदैनन्, बीच बाटोबाटै गायब हुने गरेका छन्।
ठकुरानीको दिमागी अवस्था पनि ठीक छैन। शरीरको कपडा भताभुंग पार्ने उनले शौच पनि त्यहीं गर्ने गरेको प्रत्यक्षदर्शीहरू बताउँछन्। ‘कपडा लगाएको हुँदैन, भताभुंग भएको मान्छेको छेउमा को जान्छ ?’ –कर्मचारीहरू भन्छन्।
खुट्टाको दुःखाइले बेलाबेलामा उनको चित्कार सुनिन्छ। खाना पनि नियमित छैन। कसैको हेरचाहबिना बाँचेकी ठकुरानीलाई कालले पनि पत्याएको छैन। शुरु–शुरुमा घिस्रिएर यताउता हिंडे पनि उनी अहिले ठाउँको ठाउँ छिन्। शुरुमा बाँधेर उनको उपचार गरिएको थियो। औ
षधी लगाउनै नमान्ने र बाँधेको पट्टीहरू पनि फुकालेर फाल्नाले अझ समस्या थपेको छ। ‘औषधी र खाना खर्च निःशुल्क मिलाइदिन्छौं, कुर्न बस्नेलाई पनि खानाको व्यवस्था गरिदिन्छौं भन्दा पनि घरबाट कोही आउँदैनन्’ –भेरी अञ्चल अस्पतालका प्रहरी रतन शाहीले भन्नुभयो।
अस्पतालले गरिब, असहायलाई दिने सुविधा चौधरीलाई दिएको बताएको छ। औषधी र खानाको व्यवस्था मिलाएको उसको दाबी छ। बिरामी ल्याएर आफन्त छोडेर भाग्ने या घर निकाला गरिएका बिरामीका कारण अस्पतालहरूले बेलाबेलामा यस्ता समस्या झेल्दै आएका छन्।
केही महिनाअघि दाङकै एक संक्रमित महिलाको भेरीमा ३ हप्ता उपचारपछि मृत्यु भएको थियो। यस घटनामा पनि अस्पतालले सक्दो सहयोग गरेको थियो। घरपरिवार बालबच्चा भएकी ती महिलालाई घरका कोही पनि सनाखत गर्नसम्म आएनन्। अस्पतालमै मृत्यु भएकी ती महिलालाई ‘बेवारिसे’ मानेर फालिएको थियो।
रोगीहरूलाई अस्पतालमा लगेर छोड्ने प्रवृत्ति बढ्दै गएको घटनाहरूले देखाएको छ। सरकारी अस्पताल भएकाले भेरीमा अझ यो समस्या आइरहने गर्दछ। (नेपाल समाचारपत्र)