प्रसूति केन्द्र निर्माणमा लागि साइकल यात्रा I

काठमाडौँ श्राउन  ३,

ललितपुर जिल्लाको प्युटार गाविसमा रहेका स्वास्थ्य चौकीको थप सुदृढीकरण तथा प्रसूति केन्द्र निर्माणमा लागि सेभ दि चिल्ड्रेन र सोसल टुर्सले ललितपुरको ऐतिहासिक पाटन दरवार क्षेत्रदेखि प्युटारसम्म कोरा साइकलिङ्ग च्यालेन्ज–२०१४ नामक साइकल यात्रा आज आयोजना गर्ने भएको छ ।

 काठमाडौँदेखि ४५ किलोमिटर टाढा रहेको सो गाविसमा ९० प्रतिशत घरमै प्रसूति हुने गरेको सेभ दि चिल्ड्रेनले जनाएको छ । सो यात्राबाट करिब २० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ । सङ्कलित रकमबाट सो गाविसमा रहेको स्वास्थ्य चौकीलाई वातावरणमैत्री बनाई स्वास्थ्य संस्थामा नै प्रसूति गराउने कार्यको प्रवद्र्धन गरिनेछ ।

सो यात्रामा करिब एक हजार २०० साइकल यात्री सहभागी हुने सोसल टुर्सका संस्थापक निर्देशक राज ज्ञवालीले जानकारी दिए । साइकल यात्रीलाई महिला र बालबालिकाले भोग्नुपरेका चुनौतीका बारेमा जानकारीसमेत दिइनेछ । सेभ द चिल्ड्रेनका सूचना तथा सञ्चार निर्देशक सुदर्शन श्रेष्ठले राजधानीसँग जोडिएर पनि प्युटारका महिलाले आधारभूत प्रसूति सेवाबाट वञ्चित रहनुपरेको अवस्थालाई अन्त्य गर्न कार्यक्रम संयोजन गरिएको जनाए ।

प्युटार स्वास्थ्य चौकीमा कार्यरत अनमी सरस्वती तिमल्सिनाले भने “धेरैजसो प्रसूति रातको समयमा हुन्छन् । विद्युत्भार कटौती र इन्भर्टर नभएको कारणले गर्दा म एक हातमा टर्च समातेर अर्काे हातले प्रसूति गराइरहेको हुन्छु । अस्थायी प्रसूति केन्द्र भत्काइएपछि सबै घरमै बच्चा जन्माउँँँछन् । आर्थिक अवस्था राम्रो भएका गर्भवती भने एक महिना पहिले नै काठमाडौँ गएर बस्छन् ।”

निर्देशक श्रेष्ठले सेभ द चिल्ड्रेनले हरेक वर्ष साइकल यात्रा कार्यक्रम आयोजना गर्दै आइरहेको छ । गतवर्ष आयोजना गरिएको कार्यक्रमबाट रु १७ लाख सङ्कलन गरिएको थियो । नेपालमा हरेक वर्ष २२ हजार नवजात शिशुको २८ दिन नपुग्दै मृत्यु हुने गर्दछ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com