चिकित्सक नहुँदा उपचारका लागि लाखौँ खर्चेर हेलिकप्टर चार्टर गर्न बाध्य I

खोटाङ श्रावन ६,

डेढ लाख खर्चेर हेलिकोप्टर चार्टर ....

स्थापनाकालदेखि नै स्वास्थ्य केन्द्रमा चिकित्सक नभएपछि जिल्लाका दुई क्षेत्रका बिरामी चर्को मूल्यमा हेलिकोप्टर चार्टर गरेर उपचारका लागि अन्यत्र जान बाध्य छन् । पन्ध्र वर्षअघि स्थापना भएको ऐसेलुखर्क र चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नआएपछि आसपासका बिरामी उपचारका लागि रु एक लाख ३० हजारदेखि रु एक लाख ५० हजारसम्म तिरेर उपचारका लागि अन्यत्र जान बाध्य भएका हुन् । 

मन्त्रालय र विभागले एमबिबिएस चिकित्सक पठाएको पत्र आए पनि प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै चिकित्सक नआएको जिल्ला जनस्वास्थ्य कार्यालयका नायब सुब्बा मणिराम ढकालले बताए । चिकित्सक नहँुदा प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य चौकीले सरह मात्र सेवा प्रदान गरिरहेको ऐसेलुखर्क–१ का स्थानीय तेजप्रसाद निरौलाले बताए । निरौलाले भने ‘गाउँमा प्राथमिक स्वास्थ्य केन्द्र छ तर चिकित्सक आउँदैनन्, त्यसकारण जटिल किसिमका बिरामीलाई डोकोमा बोकेर वा रु डेढ लाख खर्चेर हेलिकोप्टर चार्टर गरेर अन्यत्र लानुपर्ने बाध्यता छ ।’ 

विभागबाट प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा चिकित्सक रवीन्द्र श्रेष्ठलाई पठाइएको पत्र जिल्ला जनस्वास्थ्य कार्यालयमा आए पनि उनी बेखबर छन् । हाल चिकित्सकविहीन सञ्चालन हुँदै आएको ऐसेलुखर्क स्वास्थ्य केन्द्र स्वास्थ्य सहायक ओमजङ्ग शाहीको भरमा सञ्चालन हुँदै आएको छ । यस्तै चिसापानी स्वास्थ्य केन्द्र वरिष्ठ अहेब राजकुमार दासको भरमा सञ्चालन हुँदै आएको छ । 

चिसापानी स्वास्थ्य केन्द्रका लागि तोकेर पठाइएका चिकित्सक पुजन बल्ललाई जिल्ला अस्पताल दिक्तेलमै राखिएको छ । मेडिकल सुपरिटेन्डेन्ट कल्याण बस्नेत लामो समयदेखि शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बसेको र मेडिकल अधिकृत ओमबिजु पन्त अध्ययन बिदामा रहेकाले स्वास्थ्य केन्द्र चिसापानीका लागि पठाइएका चिकित्सक बल्ललाई जिल्ला अस्पतालमै राख्नुपर्ने बाध्यता आएको कार्यालयले जनाएको छ । 

कोही पहुँचका बलमा नआउने र आइहाले पनि काज मिलाएर केही दिनमै फर्कने प्रवृत्तिका कारण स्वास्थ्य केन्द्र लामो समयसम्म चिकित्सकविहीन बनेको जिल्ला अस्पतालका प्रमुख चिकित्सक नवलकिशोर झाले बताए । तोकिएर पठाइएका चिकित्सकले ठाउँ ओगटेर अन्यत्र बस्दा उनीहरुको ठाउँमा अन्य चिकित्सक ल्याउने कानुनी बाटो पनि बन्द भएको चिकित्सक झाको भनाइ छ । 

महिना दिनअघि मात्र लोकसेवा आयोगबाट ५० अहेव र २९ अनमीको पदपूर्ति गरिए पनि जिल्लामा अझै ५१ जना स्वास्थ्यकर्मीको अभाव रहेको अस्पतालले जनाएको छ । जिल्लामा एक अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, २४ स्वास्थ्य चौकी र ४९ वटा उपस्वास्थ्य चौकी सञ्चालनमा छन् । रासस :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com