गज़ल :By, कोमल भट्ट


गज़ल :

के काम यो जिन्दगीको,जस्को कुनै नाम छैन
सुकुम्बासी जस्तै भएँ ,बस्ने खाने ठाम छैन

यता उता भौँतारिन्छु,अनगिन्ति पीडा बोक्दै
अँध्यारो छ जताततै ,जून छैन घाम छैन

छिन्न भिन्न भए सबै,पाखा लागे मायालु ती
अघि पछि को हुन्छ र ?आफू सँग दाम छैन

भुल्न थाले साथी सँगी,दौँतरीले पालै पालो
गर्न छोडे खोजी खबर,चिट्ठी पत्र खाम छैन

बिर्सी सके धर्म कर्म,रीति,रिवाज,परम्परा
यस्तो लाग्न थाल्यो अब,मुक्ति पाउने धाम छैन

बल्ल तल्ल चलेको छ,जिन्दगानी निसासिंदै
सुख,शान्ति,आनन्द र हाँसो दिने याम छैन

निराशाको कालो बादल,मडारिन्छ घरीघरी
शून्य भयो जताततै,हितैषीको लाम छैन

नियतिले जता जता,डोर्याउँछ जान्छु उतै
वेसहारा भएको छु,यहाँ आफ्नो राम छैन

कोमल भट्ट 
पुरानो नैकाप,काठमाडौँ


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com