काठमाडौंजेष्ठ २६,
सर्लाही बबरगंजका तीन वर्षीय बालक अनुरागकुमार चौधरीको पेटको ट्युमरभित्र अर्को बच्चा भेटिएको छ । जेठ १९ गते कान्ति बाल अस्पतालमा शल्यक्रिया गर्दा चार ग्रामको ट्युमरभित्र २ सय ५० ग्रामको बच्चा फेला परेको हो ।
शल्यक्रियामा संलग्न डाक्टर अनुपमा थापाका अनुसार बच्चाको ट्युमरमा हल्का कपाल पलाइसकेको टाउको आकृतिको डल्लो फेला परेको छ । त्यसमा भर्खर विकास हुँदै गरेका हात र ६ वटा औंला भएका खुट्टासमेत छन् । ‘त्यो बच्चाको शरीरमा हड्डीको पनि विकास हुँदै गरेको देखियो,’ डाक्टर थापाले भनिन ।
गत असोज महिनामा आमा रामजैसी चौधरीले दूध खुवाउँदा बालकको पेटमा डल्लो परेको देखेको थिईन । स्थानीय चिकित्सकमकहा जचाउँदा पत्थरीको शंका गरेर कान्ति अस्पताल पठाइयो ।
कान्तिले परीक्षणपछि ट्युमर भएको पत्ता लगायो । कान्तिले त्यतिबेलै ट्युमरको शल्यक्रिया गर्नुपर्ने बताएको थियो, तर चौधरी परिवार डराएर गाउँ फर्कियो । ‘गाउँमा गएर धामीलाई देखायौँ, तैपनि पेटमा भएको साह्रो डल्लो हराएन,’ हजुरबा रामकरण चौधरीले भने ।
हजार कोसिस गर्दा पनि निको नभएपछि उनिहरु दुई साताअघि फेरि कान्तिमै आए । बच्चालाई भर्ना गराए । अप्रेसनपछि बल्ल बालकको ट्युमरभित्र अर्को बच्चा देखिएको हो । गत वैशाखमा पनि सर्लाहीकै एक बच्चाको पेटमा यसैगरी बच्चा आकृतिको ट्युमर फेला परेको थियो । त्यो भन्दा यसपालि अझै बढी विकसित रुपको भएको डा. थापाको दाबी छ ।
विपन्न कृषक परिवारका लागि अस्पतालले निशुल्क शल्यक्रिया गरेको छ ।
चिकित्सका अनुसार बच्चाको पेटभित्र ट्युमर र त्यसभित्र अर्को बच्चा हुनुलाई फिटस इन फिटो भनिन्छ । डा थापाका अनुसार गर्भमा भएको जुम्ल्याहा भ्रुणमध्ये एउटाको विकास हुन नसकेको अवस्थामा त्यो भ्रुण अर्को शिशुभित्रै समामान्य रुपमा विकसित हुन सक्छ । आजको नागरिक दैनिकमा खबर छ ।(नागरिक-बाट)