काठमान्डू जेष्ठ ३०,
१६ वर्षमा प्रेम विवाह गरेकी शर्मिला (सम्मी) थापाले विवाहपछि पनि अध्ययन र कामलाई अघि बढाइरहिन्। र्याम्प मोडलका रूपमा समेत परिचित सम्मी जीवनलाई सुखमय बनाउन चाहन्थिन् तर सोचेजस्तो भएन र उनी एकल महिला बन्न बाध्य भइन्। बूढाबूढी बाहिरै बसेर काम गरिरहे पनि छोरा पाएपछि घरबाट स्वीकार गरेर भित्र्याइएकी सम्मी छोरा ३ वर्षको भएपछि श्रीमान्ले छोडेपछि माइती गएर बसिन्।
छोरासँगै छुट्टै जीवन बिताउने क्रममा उनले ब्युटिपार्लर खोलिन् भने अंग्रेजी र फ्रेन्च भाषाको टुरिस्ट गाइडका रूपमा पनि काम सुरु गरिन्। युवा एकल महिलाहरूका लागि केही गर्नुपर्छ, आफूजस्ता पढे-लेखेका महिलालाई नै यस्तो हुन्छ भने अरूलाई कस्तो होला भनेर उनले २०११ मा सम्मिदा महिला विकास मञ्च स्थापना गरिन्। संस्थामार्फत उनले कानुनी सहयोग एवं एकल महिलाका सन्तानको शिक्षामा काम गर्दै आएकी छिन्। उनी आफूले सिकेका कुराहरू आफ्नो संस्थामार्फत एकल महिलाहरूलाई सिकाइरहेकी छिन्। सम्मीले फेसबुकमा राखिएका आफ्ना गतिविधिकै आधारमा फिलिपिन्सबाट ह्युमेनिटिज सर्भिस अवार्ड पनि प्राप्त गरेकी छिन्।
समय बुझेकी सुकु :
समय बुझेकी सुकु :
दोलखा जिल्लामा जन्मिएकी २७ वर्षीया सुकुमाया मोक्तान बहुप्रतिभाशाली छिन्। उनलाई सानैदेखि व्यापारमा रुचि थियो। मोक्तान कुनै पनि काम नाफा-नोक्सान अनुमान गरेर मात्र गर्थिन्। उनको परिचय तामाङ चलचित्रकी नायिकामा मात्र सीमित छैन उनी तामाङ चलचित्रकी प्रथम निर्देशक पनि हुन्।
चलचित्रबाहेक उनी विभिन्न फेसन शो तथा म्युजिक भिडियोमा पनि व्यस्त हुन्छिन्। हालसम्म उनले तामाङ भाषाका १५ वटा चलचित्रमा अभिनय गरिसकेकी छिन् भने १० वटा म्युजिक भिडियोमा अभिनय गरेकी छिन्। सुकु सधैं सक्रिय रहन मन पराउँछिन्। उनी समय खेर फाल्न चाहन्नन्। तामाङ चलचित्रबाट उनले एवार्ड पनि प्राप्त गरेकी छिन्। झूटो बोलेको मन नपराउने सुकु महिलाहरू सक्षम बन्न उनीहरूभित्र रहेको क्षमता प्रस्फुटन हुन जरुरी भएको बताउँछिन्। सुकु जति खट्न सक्यो आफूमा त्यति नै निखार आउने कुरामा विश्वास गर्छिन्।
लगनशील रश्मिला :
लगनशील रश्मिला :
धादिङमा जन्मिएकी साधारण एवं धैर्यशाली रश्मिला श्रेष्ठ संघर्ष मन पराउँछिन्। बाल्यकालदेखि नै सिर्जनात्मक कार्यमा रुचि राख्ने रश्मिला अरूलाई सहयोग गर्न पाउँदा खुसी हुन्छिन्। ३३ वर्षीया रश्मिलाले आफ्नो रुचिलाई साकार बनाउन विभिन्न संस्थाबाट तालिम लिइन्। सुरुमा उनले हबिव, सयाम हुँदै नेपाल चाइना स्किन केयरबाट फेसियलसम्बन्धी तालिम लिइन्। अहिले उनी फेसियल सेन्टरमा आबद्ध छिन्।