एचआइभी सङ्क्रमित यसरि आयआर्जनमाI

बाबियाचौर (म्याग्दी) 

एचआइभी सङ्क्रमितले बाख्रा र कुखुरापालन सुरु गरेका छन्.....

जिल्लाका एचआइभी सङ्क्रमितहरु आयआर्जन कार्यमा संलग्न हुन थालेका छन् । खुलेका सङ्क्रमितहरु सामाजिक असुरक्षा र आम्दानीको अवसरबाट वञ्चित हुँदा जीविकोपार्जनमा कठिनाइ भएपछि जिविसको सहयोगमा आयआर्जन कार्यमा संलग्न भएका हुन् । 

म्याग्दीका आठजना एचआइभी सङ्क्रमितले बाख्रा र कुखुरापालन सुरु गरेका छन् । आर्थिक विपन्नता, गरिबी र रोजगारीको अवसरबाट वञ्चित हुँदा दिनचर्या कष्टकर बन्न थालेपछि सामान्य आयस्रोत जुटाउन बाख्रा र कुखुरापालन गर्न थालेको सङ्क्रमितसमेत रहेका गुप्त सवा मार्ग सहयोग समितिका अध्यक्ष होमबहादुर पुर्जाले जानकारी दिए । छजनाले कुखुरा र दुईजनाले बाख्रापालन सुरु गरेको पुर्जाले बताए । 

“कुनै रोजगारीको अवसर तथा आयस्रोत नहुँदा बिहान, बेलुकी हातमुख जोर्नसमेत धौधौ छ”– पुर्जाले भने –“आयमूलक कार्यमा संलग्न भएपछि केही सहज हुने अपेक्षा गरेका छाँै ।” उनका अनुसार बाख्रा र कुखुरा खरिद गर्न जिल्ला विकास समितिले प्रतिव्यक्ति रु पाँच हजारका दरले अनुदान सहयोग गरेको छ । 

सङ्क्रमितहरुलाई आयआर्जनमा संलग्न गराउने र उचित हेरचाहको व्यवस्थाका लागि यस वर्ष पहिलोपटक रु एक लाख विनियोजन गरिएको स्थानीय विकास अधिकारी शर्माले जानकारी दिए । रु एक लाखमध्ये रु ४० हजारको बाख्रा, कुखुरा खरिद, रु ४० हजारको सङ्क्रमित हेरचाहसम्बन्धी तालिम र रु २० हजार सङ्क्रमितहरुको सम्पर्क कार्यालय सञ्चालनका लागि उपलब्ध गराइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन घनश्याम सिग्देलका अनुसार म्याग्दीमा हाल ६७ जना एचआइभी सङ्क्रमित रहेका छन् । तीमध्ये १० जनाको हाराहारीमा मात्र समाजमा खुलेका छन् । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com