यार्सा खोज्‍न पाटन क्षेत्रमा यस्तो भीड I

मुगु जेष्ठ २०,

जिल्लाको मुगु गाविसको विभिन्न पाटन क्षेत्रमा यार्सागुम्बा खोज्नेको भीड नै लागेको छ। मुगु गाविसका रिमाड, सानो कोइकी, ठूलो कोइकी, टाँकेलगायत पाटन क्षेत्रमा पाइने यार्सागुम्बा खोज्नका लागि जिल्लाभित्र र बाहिरका १५ हजारभन्दा बढी मानिस पुगेका छन्। हिमालमा अत्यधिक जाडो हुने भएकाले संकलकहरू बाक्लो कपडा, सजिलो हुने खाना र पाल बोकेर यार्सा खोज्न गएका छन्।

जिल्लावासीलाई बन प्रवेश गर्दा एक हजार र जिल्लाबाहिरका संकलकलाई प्रतिव्यक्ति पन्ध्रसयका दरले शुल्क निर्धारण गरिएको भए पनि व्यवस्थापन नमिल्दा राजस्व आधामात्र संकलन भएको छ। यसपटक बन प्रवेश शुल्कबाट तीन करोड राजस्व संकलन हुने अपेक्षा गरिए पनि लामो समयदेखि सिरानीचौरमा रोकिएका संकलकको भीड थाम्न नसक्दा एक करोड ४२ हजार दुई सय ३० रुपैयाँमात्र संकलन भएको छ। यसपटक यार्सा संकलनका लागि जुम्ला, बाजुरा, हुम्ला, कालीकोट, दैलेख, सुर्खेत, जाजरकोट, दाङलगायत जिल्लाबाट १५ हजारभन्दा बढी सर्वसाधारण जम्मा भएको प्रहरीचौकी पुलुले जनाएको छ। राजस्व संकलनका लागि जिल्ला विकास समिति, प्रहरी प्रशासन र मुगु गाविसका कर्मचारी खटिए पनि स्थानीयवासी र राजस्व संकलनका लागि गएको टोलीबीच तालमेल नमिल्दा संकलन हुन नसकेको गाविसले जनाएको छ।

बन प्रवेश शुल्क नतिरी हिमालतर्फ गएका यार्सा संकलनकर्ताहरूको पालमै पुगेर राजस्व संकलन गर्ने तयारी रहेको मुगु गाविसका कार्मा लामाले बताए। अहिले संकलन भएको राजस्वबाट मुगु गाविसलाई ४० लाख १६ हजार ८ सय, जिविसलाई २० लाख ८ हजार चार सय, व्यवस्थापन खर्च ३५ लाख १० हजार चार सय र सरसहयोगतर्फ पाँच लाख दुई हजार एक सय छुट्ट्याइएको छ। जिल्लाका करान क्षेत्रका सर्वसाधारण काखे बालबच्चा बोकेर हिमालमा गएका छन्। एउटा यार्सागुम्बाको पाँच सयभन्दा बढी र प्रतिकेजी २५ देखि ३५ लाखसम्म पर्छ। स्थानीयवासी बालबालिकासहित हिमालतिर गएपछि यस क्षेत्रका विद्यालय बन्द भएका छन्।

तीनमहिने बालबालिका बोकी घर नै बन्द गरेर एक महिनाका लागि पाटन क्षेत्रमा हिँडेका यहाँका सर्वसाधारणले धेरै रकम ल्याउने सपना देखेका छन्। अहिलेसम्म यार्सा पाइने स्थानमा हिउँ पग्लिएको छैन। अविरल वर्षासमेत भइरहेकाले चिसोका कारण ज्यान नै जाने खतरा रहे पनि सर्वसाधारण पाटन क्षेत्रमा हिँडिरहेका छन्।
(जीवन सेजुवाल-अन्नपूर्ण)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com