चन्द्रनिगाहपुर (रौतहट) जेष्ठ २४,
जिल्लाको गैडाटारमा हैजा तथा झाडापखालाका बिरामीलाई उपचार गर्न राखिएको शिविरमा औषधि र खानेपानीको अभाव भएको छ । गत वैशाख १७ गतेदेखि फैलिएको हैजा र झाडापखालाका कारण शुक्रबारसम्म करिब ९०० जना बिरामी परेका छन् भने एक किशोरीको ज्यान गइसकेको छ ।
झाडापखाला नियन्त्रणमा आउन सकेको छैन ।
शुक्रबार शिविरमा १६ जना झाडापखालाका बिरामी उपचार गराउन आएका छन् । तीमध्ये दुई बालिकाको अवस्था गम्भीर छ । शिविरमा उपचार गराइरहेकी एक वर्षीया बालिका रोशनीमाया ठोकर र आठ वर्षीया पञ्चमाया जिम्वाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।
शिविरमा एक वर्षीया बालिकादेखि ६० वर्षसम्मका झाडापखालाका बिरामी उपचार गराइरहेका छन् ।
बिरामीको चाप शिविरमा बढेको छ, औषधि नआए उपचार गर्न समस्या छ डा सचिन यादवले भने । क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौँडाबाट खटिएका हेल्थअसिस्टेन्ट रोहित लामिछानेले शिविरमा औषधि अभाव भएकोबारेमा माथिल्लो निकायमा जानकारी गराएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत दुर्योधनप्रसाद चन्द्रवशीले शिविरमा तत्काल औषधि पठाइने जानकारी दिए । शिविरमा बिरामी र स्वास्थ्यकर्मीको टोलीलाई खानेपानीको समेत समस्या छ ।
शिविरमा खटिएका स्वास्थ्यकर्मी गोविन्द तिमिल्सेनाले भने “खानेपानीको समस्या छ, बिरामीले सरसफाइ गर्न पानी पाएका छैनन् ।” झाडापखालाको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले जनशक्ति माविमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
खानेपानी नभएको, बेन्चमा सुतेर उपचार गराउनु परेको, पानी नहँुदा सरसफाइ समेत गर्न नपाएको बिरामीको गुनासो छ ।
खानेपानीको व्यवस्था गर्न एक महिनादेखि सम्बन्धित निकायसँग माग गरेपनि सुनुवाइ नभएको स्थानीय युवा रवि देवकोटाले बताए । प्रभावित क्षेत्रमा चन्द्रनिगाहपुरबाट ट्याङ्करमा स्वच्छ पानी लगेर वितरण गर्ने बताइए पनि सो काम प्रभावकारी हुन सकेको छैन ।
हैजा तथा झाडापखाला महामारी फैलिएको गैडाटारवासीले चादी नदी, चुरे आसपासको कुवा तथा पोखरी र डुम्रेखोलाको दूषित पानी पिउँदै आएका छन् । रासस: