सर्लाही आषाढ २,
चूडामणि वाग्ले : सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको मेची–महाकाली विद्युतिय रेलमार्गको आइतबार शुभारम्भ गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधीले सर्लाहीको रानीगन्ज गाविसमा आयोजनाको शिलान्यास गर्नुभएको हो।
मेचीको काँकरभिट्टादेखि महाकालीको गड्डाचौकीसम्म निर्माण गरिने रेलमार्ग ९ सय ४५ किलोमीटर लामो हुनेछ। १५ वर्षमा पूरा गरिने भनिएको रेलमार्गको निर्माण कार्य सर्लाहीबाट शुरू गरिएको रेल्वे विभागका महानिर्देशक अनन्त आचार्यले जानकारी दिनुभयो। विभिन्न खण्डमा निर्माण हुने यो आयोजनाअन्तर्गत बर्दीवास–सीमरा खण्ड १ सय ८ किलोमिटर रहेको छ। यो वर्ष सर्लाहीको जब्दी र रानीगन्ज गाविसमा पाँच किलोमिटर रेलमार्ग बनाउन टेन्डर गरिएको छ।
रेलमार्ग ५० मिटर चौडा हुनेछ। अहिले १ लेन भए पनि पछि यो रेलमार्ग २ लेनको बनाउन सक्ने गरी चौडा राखिएको हो। ८३ वर्ष पहिले नेपालमा शुरू भएको रेलसेवाको अव आधुनिकीकरण शुरू भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताउनुभयो। यो रेलमार्गमा प्रतिघण्टा १ सय ६० किलोमिटर गतिको हुने र १ सय ६ वटा स्टेसन राखिनेछ। पुरै आयोजना पूरा हुन करिब १ खर्ब बजेट लाग्ने अनुमान छ। सरकारले रेलमार्ग बनाउने दाता खोजिरहेको मन्त्री निधीले बताउनुभयो। रेलगार्ग नजिकका वीरगन्ज जस्ता शहरहरुसँग छोटो दूरीका रेलमार्ग नै बनाएर जोडिने उहाँले जानकारी दिनुभयो।
रेल्वेलाई जनकपुर, वीरगन्ज जस्ता भारतको नजिक पर्ने अन्य रेलमार्गसँग जोडेर अन्तर्राष्ट्रिय रेल सञ्जालमा मिसिने लक्ष्य राखिएको छ। यो रेलमार्गको काम भने अहिले मुआब्जाको विवादले रोकिएको छ। प्रमुख जिल्ला अधिकारी संयोजक रहने जिल्ला मुआब्जा समितिले निर्धारण गरेको जग्गा अधिग्रहण बापतको रकम थोरै भएको भन्दै स्थानीय जग्गाधनीले रेल्वेको परियोजना कार्यालयमा तालाबन्दी गरेर काम रोकेका छन्।
मुआव्जा संघर्ष समितीका सचिव विश्वामित्र रिजालले शिलान्यास गर्न दिइए पनि मुआव्जामा सहमती नभएसम्म निर्माण कार्य गर्न भने नदिईने दावी गर्नुभयो। रेलमार्ग शिलान्यास कार्यक्रममा आफुहरूको वेवास्ता गरिएको भन्दै त्यस क्षेत्रवाट निर्वाचित एकिकृत माओवादीका सभासद सम्भु श्रेष्ठले खेद व्यक्त गर्नुृभएको छ। उहाले भन्नुभयो–“म त्यस क्षेत्रवाट निर्वाचित सभासद तर मलाई कार्यक्रममा दुई शव्द वोल्न पनि दिइएन, नेपाली काग्रेसको आमसभा जस्तो कार्यक्रम रेल विभागले गरेको देख्दा दुख लाग्यो।”
वोलाइएका सभासद र पुर्व मन्त्रीहरूको अपमान गरेर फर्काइएको उहाको दावी छ। रेलमार्ग शिलान्यासमा ठुलो सख्यामा भेला भएका स्थानीयवासीले हर्ष प्रकट गरेका थिए। विकासको काम भएकाले केही विसंगति भए पनि आफुहरूले विरोध नगर्ने नेकपा एमालेकी सभासद रंजना सरकारले वताउनुभयो।