गज़ल : By, कोमल भट्ट
झर्यो आँसु सम्झेँ,पखेरा पखेरी
उतै डुल्छ आँखा,लगाएर फेरी
सधैँ देश देखेँ,यहाँ स्वप्न देख्दा
मनै भित्र नाच्यो,पियारो मझेरी
विरानो छ हावा,भयौँ वाल्ल ट्वाल्ल
छुट्यो पास आफ्ना,बचेरा बचेरी
डस्यो शून्यताले,कतै छैन आभा
झनै निल्न खोज्दै,छ कालो अँधेरी
दिए चोट मात्रै,मिठा कल्पनाले
सुक्यो भावना नै,परे झैं खडेरी
सुनेनन् पुकारा,दिए कष्ट धेरै
अहो ! यी विधाता,रहेछन् अटेरी
भयो छिन्न भिन्नै,कथा जिन्दगीको
गुम्यो साख सारा,हरायो मितेरी
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका