गज़ल : By, कोमल भट्ट


गज़ल...

भन्दै छ रोजै तेरो र मेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा
 लोभी छ धेरै नाघ्दै छ घेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा

बिर्सेछ सच्चा कर्तव्य के हो,बन्दै छ पापी झन् आज भोलि
गन्तव्य सारा पार्यो अँधेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा

आफैं छु ठूलो भन्ठान्छ क्यारे,गर्दैन माया अर्को कसैको
बद्नाम पायो पाखा पखेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा

सन्तुष्टि कैल्यै मानेन उस्ले,जे जे छ आफ्नो त्यो चीज बाट
चाहन्छ कब्जा सम्पूर्ण फेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा

सक्दैन खप्नै दोश्रो फुलेको,तान्दैछ खुट्टा पछार्न खोज्दै
लाएर नाना भाँती उकेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा

त्यागेर यस्तो बानी नराम्रो,रोजौं न 'कोमल्' बाटो सबैले
फ्यालौं सडेको रद्दी कचेरो,चुक्दै छ मान्छे यो जिन्दगीमा

(आदरणीय पोस्टराज सरको नयाँ छन्दमा आधारित गज़ल)

कोमल भट्ट
 पुरानो नैकाप,काठमाडौँ 
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com