जनमत संग्रहले रुस र पश्चिमा मुलुकबीच नयाँ शीतयुद्धको संकेत I

दोनेत्स्क, युक्रेन वैशाख २९ -,

युक्रेनका दुई पूर्वी क्षेत्रमा रुस समर्थित पृथकतावादीहरूले 'स्वशासन' का लागि भन्दै आइतबार जनमत संग्रह गराएका छन् । युक्रेनी सरकार र पश्चिमा मुलुकहरूले उक्त कदमको विरोध गरेका छन् । ती दुई क्षेत्रमा दोनेत्स्क र लुहान्स्क छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई रोक्न आग्रह गरेका छन् । तर, विद्रोही नेताहरूले टेरेनन् । 

युक्रेनले जनमत संग्रहलाई अवैध भन्दै यसले मुलुकमा थप संकट निम्तिने प्रतिक्रिया दिएको छ । यसैबीच रुस समर्थित बन्दुकधारीले विभिन्न क्षेत्रमा रहेका सरकारी कार्यालयहरू कब्जा गरेका छन् । त्यसक्रममा युक्रेनी सुरक्षाकर्मीसँग भिडन्त भइरहेका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेको स्लोभियान्स्क सहरबाहिर रातभरि गोली हानाहान चल्यो । शुक्रबार दोनेत्स्क क्षेत्रको बन्दरगाहमा भएको गोलीबारीमा कम्तीमा सात जनाको मृत्यु भएको थियो । युक्रेनका कार्यवाहक राष्ट्रपति तुर्चिनोभले पूर्वी युक्रेनका अधिकांश बासिन्दा रुस समर्थक कट्टरपन्थी रहेकाले यसले मुलुकलाई धराशायी बनाउने गुनासो गरेका छन् । 

दोनेत्स्क -एजेन्सीहरू)- केभबाट अलग हुनेबारे पूर्वी युक्रेनमा भइरहेको जनमत संग्रहमा आइतबार मतदान केन्द्रहरूमा मतदाताको बाक्लो उपस्थिति रह्यो । मतदाता सूचीमा धेरैको नाम नभएपछि उनीहरूलाई अन्य परिचय पत्रका आधारमा मतदान गर्ने छुट दिइयो । एउटै मतदाताले दुई पटकसम्म मतदान गरेको पाइएको सीएनएनले जनाएको छ । एउटै व्यक्तिले अन्य मत केन्द्रमा समेत गएर मतदान गरेको भेटिएको छ । मतपेटिकाहरू नयाँ दोनेत्स्कको स्वतन्त्र झन्डाहरूले सजाइएका थिए । दोनेत्स्क चुनाव समितिका सदस्यहरूले आइतबार अपराह्न ४ बजेसम्म ६९ प्रतिशत मतदान भएको बताए । 

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनको पूर्वी क्षेत्रमा एकपक्षीय ढंगले मतदानको आयोजना गरिएको छ । मतपत्रमा धेरै विरोधाभासहरू छन् । पश्चिमा मुलुकहरूले युक्रेन गृहयुद्धमा फस्न सक्ने संकेत गरेका छन् । विद्रोहीहरूले आफ्नो नियन्त्रणमा रहेका सहरका सडकमा विभिन्न अवरोध खडा गरे । उनीहरूले रूख समेत ढालेका छन् । बढी मत खसेको देखाउन अवरोध खडा गरिएको हो । स्वशासनका लागि गरिएको भनिएको जनमत संग्रहले रुस र पश्चिमा मुलुकबीच एउटा नयाँ शीतयुद्धको संकेत गरेको छ । 

पृथकतावादी नेताहरूले जनमत संग्रहपछि पूर्वी क्षेत्रमा आफ्नै शासन र सेना हुने बताइरहेका छन् । यसैबीच अमेरिकी विदेश विभागले युुक्रेनको पूर्वी भेगमा सशस्त्र पृथकतावादी समूहले गरिरहेको जनमत संग्रह अवैध भएको प्रतिक्रिया दिएको छ । सञ्चार माध्यमहरूले विदेश विभागका प्रवक्तालाई उद्धृत गर्दै यो युक्रेनको मात्रै नभई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन पनि भएको जनाएको छ । रुसी सरकारले यसलाई रोक्न खासै चासो नदेखाउनुबाट अमेरिकी सरकार निराश बनेको अमेरिकी विदेश विभागका प्रवक्ताको भनाइ छ । 

'मस्कोले जनमत संग्रह रोक्नुपर्नेमा उसले युक्रेनका सीमा क्षेत्रमा सैन्य गतिविधि बढाउनु दुर्भाग्य हो,' विभागद्वारा जारी विज्ञप्तिमा छ, 'यसप्रकारका गतिविधिले युक्रेनको पूर्वी भूभागमा रहेका रुस समर्थकको मनोबल बढाएको ठहर अमेरिकाको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय समुदायले युक्रेन सरकारको थप समर्थन गर्नुपर्छ ।' एजेन्सीहरू :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com