काठमाडौं जेष्ठ १४,
औषधिपसलमा किन्न पाइने भएपछि राजधानीलगायत ठूला सहरमा लागू तथा मनोद्दीपक औषधिको दुरुपयोग बढ्दै गएको छ। रोगअनुसार मात्रा मिलाएर बिरामीलाई दिइने औषधि दुर्व्यवसनीले नसाका रूपमा लिने गरेका छन्।
औषधि व्यवस्था विभागको अध्ययनअनुसार विभिन्न २२ प्रकारका लागू तथा मनोद्दीपक औषधिको व्यापक दुरुपयोग भइरहेको छ। यस्ता औषधि शल्यक्रियाका लागि बेहोस बनाउँदा, मानसिक रोगका लागि र बढी पीडा भएका बिरामीलाई आवश्यक पर्छ।
कोडिन, डेक्स्ट्रोप्रोपोजेक्सिफिन, मेथाडोन, मफ्रिनलगायत आठ प्रकारका लागूऔषध र अलप्रजोलम, बुफ्रेनोरफिन, डाइजेपामलगायत १४ प्रकारका मनोद्दीपक औषधिको दुरुपयोग हुने गरेको हो। बिक्रेताले यस्ता औषधि चिकित्सकको सिफारिसबिना र रकर्ड नराखी बिक्री गरिरहेका छन्।
लागू तथा मनोद्दीपक औषधि बिक्री गर्दा मिति, सिफारिस गर्ने चिकित्सकको नाम, ब्याच नम्बर, उत्पादक कम्पनीको नाम, मात्रा, बिक्रेता र बिरामीको नाम, रोगको प्रकृति, औषधि लिन आएको व्यक्तिबारे स्पष्ट खुलाउनुपर्ने व्यवस्था छ। तर धेरैजसो औषधि पसलेले मनपरी रूपमा त्यस्ता औषधि बिक्री गरिरहेका छन्।
लागू तथा मनोद्दीपक औषधि बिक्री गर्दा मिति, सिफारिस गर्ने चिकित्सकको नाम, ब्याच नम्बर, उत्पादक कम्पनीको नाम, मात्रा, बिक्रेता र बिरामीको नाम, रोगको प्रकृति, औषधि लिन आएको व्यक्तिबारे स्पष्ट खुलाउनुपर्ने व्यवस्था छ। तर धेरैजसो औषधि पसलेले मनपरी रूपमा त्यस्ता औषधि बिक्री गरिरहेका छन्।
औषधि व्यवस्था विभागले यस्ता औषधिको दुरुपयोग भइरहेको प्रमाण पटकपटक फेला पारे पनि कारबाही गर्न सकेको छैन। विभागले जथाभाबी त्यस्ता औषधि बेच्ने पसलेलाई सचेतमात्रै गराएर छाड्ने गरेको छ।
यस्ता औषधि बेच्न औषधि व्यवस्था विभागबाट छुट्टै प्रमाणपत्र लिनुपर्छ। तर त्यस्तो प्रमाणपत्र नलिई पनि लागू र मनोद्दीपक औषधि बेच्ने गरेको पाइएको छ।
औषधि एेन, २०३५ मा लागू तथा मनोद्दीपक औषधि दुरुपयोग गर्ने बिक्रेताको अनुमतिपत्र खारेज गर्ने व्यवस्था छ। तर अहिलेसम्म एकजना बिक्रेतालाई पनि कारबाही भएको छैन।
गत वैशाख मध्यतिर विभागले अनुगमन गर्दा भक्तपुर गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालको औषधिपसल, ठिमीको फेमेली फर्मा, बछार मेडिकल हल र शंखधर फार्मेसी, काठमाडौं कालीमाटीस्थित यादव एन्ड उमेश मेडिकल हल, ब्राइट फार्मेसी, सोल्टिमोडस्थित मायादेवी फर्मा, ललितपुर सातदोबाटोस्थित ग्रिस्मा फार्मेसी, कुपन्डोलस्थित फर्मा प्लस प्रालि, वेलकम मेडिकल हल, मेदान्त फार्मेसी, हरिसिद्धिस्थित हरिसिद्धि सामुदायिक स्वास्थ्य केन्द्रलगायत दुई दर्जनभन्दा बढी औषधिपसलबाट रेकर्ड नराखी यस्ता औषधि बिक्री भएको पाइयो।
विभागका एक कर्मचारीले भने, 'यी त दुई साता अनुगमन गर्दा भेटिएका उदाहरण हुन्, औषधि दुरुपयोग गर्ने बिक्रेता काठमाडौं उपत्यकामा मात्र हैन अन्य सहरमा पनि ह्वात्तै बढेका छन्, त्यसको अनुगमन छैन।' स्रोतका अनुसार विभागकै कर्मचारीको मिलोमतोमा यस्ता औषधिपसलेमाथि कारबाही हुन सकेको छैन।
विभागले अनुगमनका बेला यस्ता औषधि निर्धारित मापदण्डअनुसार रेकर्ड राखेरमात्र बिक्री गर्न सचेत गराए पनि बिक्रेताले पालना गर्दैनन्।
औषधिपसलेले जथाभाबी लागूपदार्थ बेच्दा दुव्र्यसनीलाई सहयोग पुगिरहेको छ भने त्यस्ता औषधि आवश्यक पर्ने बिरामीले नपाउने अवस्था पनि छ।
दुव्र्यसनी यस्ता औषधिका लागि महँगो मूल्य तिर्न तयार हुने भएकाले फाइदाका लागि औषधिपसलले जथाभाबी बेच्न गरेको पाइएको छ। खुला सीमाका कारण भारतबाट पनि त्यस्ता औषधि भित्रिरहेका छन्।
विभागले जथाभाबी लागूपदार्थ बेच्नेलाई कारबाही गर्न नसकेपछि प्रहरीले सक्रियता देखाएको छ।
लागूऔषध नियन्त्रण ब्युरोका प्रवक्त ा एसएसपी रणबहादुर चन्दले भने, 'लागूऔषध दुरुपयोग नियन्त्रण गर्न औषधि व्यवस्था विभागले जिम्मेवारीअनुसार काम गर्न सकेको छैन। हामीले स्थलगत अनुगमन र कारबाही गर्न विशेष टाक्सफोर्स बनायौं तर कार्यान्वयनमा भने कठिनाइ छ।'
अनुगमनका लागि प्रहरीलाई पनि सँगै लैजान आफूहरूले आग्रह गरेको तर विभागले बेवास्ता गरेको चन्दले बताए।
स्रोतका अनुसार खैरो हेरोइनविरुद्ध प्रहरीले विशेष अभियान चलाएपछि आगू औषधिको खपत बढेको छ।
औषधि व्यवस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर भुजूले यस्ता औषधि दुरुपयोग गर्नेको विवरण संकलन भइसकेकाले चाँडै कारबाही प्रक्रियामा जाने बताए। (दीपा दाहाल-अन्नपूर्ण)