बोको हराम विद्रोही द्वारा ८ बालिकालाई अपहरण I

अबुजा वैशाख २४ ,

उत्तर-पूर्वी नाइजेरियाको वाराबे क्षेत्रमा बोको हराम विद्रोहीले थप ८ बालिकालाई अपहरण गरेको छ । उनीहरू १२ देखि १५ वर्ष उमेर समूहका छन् । दुई ट्रकमा आएका उनीहरूले गाउँबाट वन्यजन्तु र खाद्यान्न पनि लिएर गएका छन् । 

उक्त क्षेत्रमा इस्लामिक आन्दोलनको कडा पकड छ । यसअघि अपहरण गरेर लगिएका जंगल क्षेत्रसँग बारावे जोडिएको छ । स्थानीयमा ताजा घटनाले त्रास बढेको छ । बेहाल सुरक्षा व्यवस्था र थप बालिकाको अपहरण हुने चिन्ताले उक्त क्षेत्रका बासिन्दा चिन्तित छन् । नाइजेरियाको उक्त भागबाट सयौं बालिका अपहरण गरेको दाबी गर्दै बोको हराम समूहले सोमबार उनीहरूलाई दासको रूपमा बेचिदिने चेतावनी दिएको थियो । 

गत १४ अपि्रलमा नाइजेरियाको बोर्नो राज्यको चिबोकमा आवासीय विद्यालयबाट २ सय ७६ विद्यार्थी अपहरण गरिएका थिए । तीमध्ये ५३ बालिका लडाकुबाट भाग्न सफल भए भने २ सय २३ बालिकाको अवस्था अझै अज्ञात छ । विद्यालयको अन्तिम वर्षमा अध्ययरत उनीहरू १६ देखि १८ वर्ष समूहका छन् । उक्त घटनाको अन्तर्राष्ट्रिय समुदायले घोर निन्दा गरेको छ । 

बालिकालाई शिक्षाबाट वञ्चित गराउने र सानैमा विवाह गराइदिने विद्रोही नीतिको सर्वत्र विरोध भइरहेको छ । सरकारले यस दिशामा ठोस कदम चाल्न नसकेकोमा जनता आक्रोशित छन् । उनीहरूले मतदान नगर्ने समेत चेतावनी दिएका छन् । बीबीसी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com