यसरी जागीर खान्छन नेपालमा महिलाहरु I

"राम्रो सँग पढनु पर्छ , जागीर खानु पर्छ , ठुलो मान्छे हुनु पर्छ अनि सुख पाइन्छ ।" बाल्यकालमा कहिले काही स्कुल जान नखोज्दा हजुर आमा र आमा ले यसरी नै सम्झाउनु हुन्थ्यो । दुख र सुख को खासै अनुभव बाल्यकालमा के थाहा हुन्छ र ? राम्रो पढयो भने ठुलो मान्छे बनिन्छ भन्ने कुरा बाल मस्तिक मा बुझेर हो वा नबुझी कन घुसिसकेको थियो । हजुर आमा र आमा ले गर्ने गरेको काम र लगातारको खटाइ बिना केहि प्रतिकृयाको साथमा यी आखाले देखेका थिए राम्रो सँग । 

बिहान ३ बजे नै उठ्नु हुन्थ्यो उहाहरु भने सुत्न जादा को समय थाहा नै पाउदैन्थ्यौ । किनकी हामी हरु सुत्न जादा उहाहरु ढिकी र झातोको कामका ब्यस्त हुनु हुन्थ्यो । अहिले मनन गर्छु , सायद हामिहरु लाई पढाएर आफुले जस्तो भोगेको त्यो खटाइ पढेका छोरीहरुलाई पक्कै पर्दैन भन्ने कुरामा उहाहरु बिश्वस्त हुनुहुन्थ्यो अनि पो पढे पछी जागीर पाइन्छ ,जागीर खाए सुख पाइन्छ भन्ने बिश्वास थियो उहाहरुलाई । पढेका छोरीहरुले जागीर खाएर सुख पाउछन भन्ने हजुरआमा र आमाका ती बिश्वास हरु केवल बिश्वास मै रहेका छन भने ब्यबहारमा पढे लेखेका छोरीहरुको जागीरे जीवन भने कामको प्रकृती भिन्न भए पनि दुख र खटाइ भने उहाहरुको भन्दा कम छैन । 

आफ्नो शीप र योग्यता अनुसारको पेसा लाई अङाल्दा अहिलेका महिलाहरु लाई भ्याइ नभ्याइ छ । उनिहरु माथी पेसागत जिम्मेवारी र घर परिवारको जिम्मेवारी को दोहोरो भूमिका निभ्याउने कर्तब्य पनि कायम हुने हुँदा आफ्नो पेसालाई निरन्तरता दिन निकै संघर्ष गर्नु परेको उनिहरु को अनुभव छ । बरिष्ठ बिउटिसीयस एक साथी भन्नु हुन्छ _"आफ्नो पेसा र घर परिवार सँग सँगइ चलाउनु महिलाहरुको लागी फलामको चिउरा चपाउनु जत्तिकै हो ।" कहिले काही आफै देख्ने गर्छु उहाको ब्यस्तता । बिहान उहा पार्लर कोर्ष पढाउनु हुन्छ भने दिउसो आफैले खोलेको पार्लर चलाउनु हुन्छ । तीन छोरा छोरी की आमा उनिहरुको लालन पालन कै लागी पनि खटनु पर्ने बाध्यता छ भने घर ,छोरा छोरी र इस्ट मित्रको ख्याल पनि आफै राख्नु पर्ने जिम्मेवारी पनि आफैमा निहित छ । 

काम कै बिचमा फोन आउछ मम्मी के खाजा खाने , यो मन पर्दैन्, त्यो मन पर्दैन , फेरी छोरा छोरी बिचमा झगडा हुन्छ रुवावासी सँगइ को अर्को फोन आउछ । फोन राख्न भ्याएको हुँदैन फोनको घन्टी फेरी बज्छ , "ए ... सुन त ! म आज ढिलो आउछु है साथिहरु सँग भेट घाट छ ।" अब श्रीमान बाट घरमा केहि सहयोग हुन्छ की भन्ने आश गर्नै परेन , ढिला आउने खबर आइसक्यो । उता छोरा छोरी को लगातारको फोन एता पार्लरमा भिड भाड यैटा शरीर कता कता बाडिने ?? शरीर आफ्नो पेसामा संलग्न भए पनि मन चाहि घर परिवारको साथमा पुगेको हुन्छ , आफ्नो अनुपस्थितीमा घरमा राम्रो ब्यब्स्था हुँदै हुँदैन , अति दुख छ महिलाहरुलाई , उहा गुनासो पोख्नुहुन्छ । 

अर्को मित्र कलेज पढाउनु हुन्छ । उहाको पनि दुखेसो त कम रहेनछ । महिला भएकै कारण आफ्नो पेसालाई राम्रो सँग अङ्गाल्न नसकेको र महङीको मार खप्न क्षमता भए पनि पैसा कमाउन नसकेको अनुभव उहा सँग रहेछ । बिहान ४ बजे उठे पनि बिहानी कलास लिन नसकेको यथार्थता लाई यसरी पोख्नु भयो । घरमा एक मात्र बुहारी आफु । सासु ससुरा , देवर नन्द आमाजु सबैको चित्त बुझाउदै छोराछोरीको रेखदेख सम्म आफ्नै जिम्मेवारी भएको हुँदा आफ्नो पेसाले आफुलाई सास्ती पुर्यायको उहाको भोगाइ छ । श्रीमानको मात्र जागीरले पुरै घर परिवार चलाउन मुस्किल छ । जागिर नखाउ भने पनि सजिलो छैन खाउ भने पनि सजिलो छैन । शिक्षित भए पनि आखिर मार महिलालाइ नै पर्दोरहेछ , वास्तविकता ओकल्लिएको गुनासो उहाको पनि सुनियो । 
 शिक्षित महिलाहरुका यी पिडालाई जब सम्म पारीवारिक रुपमा मनन गरिदैन वा घर परिवार सम्हाल्ने जिम्मेवारी महिलाको मात्र होईन भन्ने भावना को बिकास गरिदैन तव सम्म महिलाहरु आफ्नो पेसालाई पुर्ण रुपमा अङ्गाल्न सक्दैनन । खाएको जागिर पनि छोडेर घर परिवार कै लागी घर भित्रको सिमित दायरामा घेरिनु पर्ने बाधात्मक स्थिती कुनै पनि क्षमतावान महिलालाई पर्नु हुँदैन । 

लक्ष्मी ज्ञवाली 
काठमाण्डौ, बैशाख २५ .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com