कोहलपुर बैशाख २३,
मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन्। शरीरको तल्लो भाग पूरै जलेकी लक्ष्मणपुर–८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्याएर घटना गुपचुप पारिएको थियो।
चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको हो।
रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ। तल्लो भाग चल्दैन। घाउ पाकेर पिप र रगत बग्न थालेको छ। उनलाई सोमबारै विभिन्न संघसंस्थाको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको छ।
छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता हिरमिनिया–८, अहिरपुरवाका मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भीर घाइते छोरीलाई नेपालगन्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गरेका थिए।
उपचारमा आर्थिक अभाव भएपछि उनले आइतबार इन्सेक क्षेत्रीय कार्यालय, नेपालगन्जमा सहयोगको याचना गर्दै निवेदन दिएका थिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो।
समिमले ‘पतिले आगो लगाई घाइते बनाइएकी छोरीको उपचार र न्यायमा आवश्यक सहयोग गरिपाऊँ' भन्दै आइतबार इन्सेकमा निवेदन दिएका थिए। रिहानाले आइतबारै अस्पतालमा सातमहिने शिशु जन्माइन् तर बचेन।
पीडित रिहानाका अनुसार दाइजो नल्याएको निहुँमा पति फरिद शेख उनलाई दिनहुँ यातना दिन्थे। गत चैत ३ गते भने यसले बीभत्स रूप लियो।
त्यस दिन उनले पत्नीको ज्यानै लिने नियतले मट्टीतेल छर्केर आगो लगाइदिए। ‘अब त मरिहाल्छे' भनेर दुई दिनसम्म घरमै गुपचुप राखियो। नमरेपछि मात्र ६ गते बहराइच पुर्याइएको थियो।
दाइजोको निहुँमा आफूलाई पतिले पटकपटक कुट्ने र चुरोटले संवेदनशील अंगमा डाम्ने गरेको रिहानाले बताइन्। ‘दाइजोका विषयमा विवाद हुँदा चैत ३ गते हात पछाडि बाँधी मट्टीतेल छर्केर आगो लगाए,' उनले सोमबार नागरिकसँग भनिन्, ‘आगो लगाएपछि अब मर्छे भन्दै दुई दिनसम्म उपचार नगरी घरमै राखे।'
घरपरिवारले आगो लगाएको सार्वजनिक गरे विषको सुई लगाएर मारिदिने धम्की दिएको पनि उनले सुनाइन्।
इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेलले पीडितले प्रहरीमा उजुरी दिएपछि पनि अनुसन्धान नगरी घटनाप्रति बेवास्ता गरिएको बताए। ‘परिवारले प्रहरीमा उजुरी दिए पनि कुनै वास्ता नगरेको र घटना लुकाएको पाइयो,' उनले भने।
छोरी खोज्दै बहराइच पुगेलगत्तै घरपरिवारले रिहानालाई अस्पतालमै अलपत्र छाडेर भागेको बुबा समिमले बताए। रिहानालाई सोमबार इन्सेक, द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल, फातिमा फाउन्डेसन, साथी र बिभिएसको सहयोगमा उपचारका लागि काठमाडौंस्थित वीर अस्पताल पठाइएको हो।
उपचारमा साथी र बिभिएस काठमाडौंले सहयोग गर्ने साथी संस्थाकी सरिता शर्माले जानकारी दिइन्।
पीडितलाई एम्बुलेन्समार्फत काठमाडौं पुर्याउन महिला तथा बालबालिका कार्यालयले आर्थिक सहयोग गरेको छ।
प्रमुख जिल्ला अधिकारीको निर्देशनपछि जिल्ला प्रहरीले सोमबार अस्पताल पुगेर पीडितको बयान लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी प्रेम बस्नेतले घटनाको अनुसन्धान भइरहेको बताए।
‘पीडित महिलाले आफूलाई पतिले जलाएको भन्दै किटानी जाहेरी दिएकी छन्,' उनले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ, सबै कुरा बाहिर ल्याउन मिल्दैन।'
आरोपित रिहानाका पति फरार रहेको बस्नेतले जनाए। उनले घटना अनुसन्धानमा कुनै कमी नहुने र दोषीलाई कारबाहीको दायरामा ल्याउने दाबी गरे।
(टेकेन्द्र बस्याल-नागरिक)