अहिलेको समयको माँग "पोथीले कोर्कोराउनु मात्र हुन्न बास्नुपनी पर्छ" भन्ने हो ।
प्रवासमा रहेरपनी नारीहरुले आफ्नो काम कर्तब्यलाई पुरा गर्दै सामाजिक सेवा वा संघ संस्थामा लागेर आफुहरुलाई सक्षम महिलाहरुको सुचीमा राख्न सक्नु सर्हानीय काम हो । यस्तै श्रेय न्युयोर्कका नेपाली महिलाहरुमा जान्छ । बिगत तीनमहिनादेखी म न्युयोर्कमा बसोबास गर्दैछु र म हरेक कार्यक्रम जहाँबाट मलाई निम्तो गरिन्छ ती निम्तोहरु स्वीकार गर्दै पुगिरहेकी छु ती ठाउँहरुमा महिलाहरुको सहभागीता र उनीहरुको उक्त संस्था वा कार्यप्रतिको जिम्मेवारी वहन,समर्पण र चासो देखेर म दंग छु ।
साँच्चै भन्ने हो भने हामी महिलाहरु जतिसुकै आधुनिक बन्न खोजेपनी र आधुनिकताको रमझममा फँसेतापनी हामीलाई आफ्नै चुल्हो,चौका र पारिवारिक जंजालले घेरेकै हुन्छ । हामी कँहिकतै सभा,सम्मेलनमा उपस्थित छौं भनेपनी हामीलाई घरि घरि घर,छोरा,छोरी,श्रीमानको सम्झना र पिरले सताइे रहेकै हुन्छ । यसो हुनु प्राकृतिक गुण नै हो यसैले त हामी नारी अहिलेसम्म सबल छौं र हाम्रो पारिवारिक पृष्ठभुमी कालान्तरसम्म जिवन्त रहेको त,हुन त मान्छेको आ-आफ्नो सोंच हुन्छ । यहाँहरु कसैले भन्नु होला आफु महिला भएर महिलाकै पक्षमा लेखी भनेर तर त्यसो होईन । म आफु महिला भएर यो लेख लेख्न वाध्य भएकी होइेन कि न्युयोर्कबासी नेपाली महिलाहरुको उत्साह र हौशलारुपी समर्पणबाट आकर्षित भएर मेरो मनको अन्तर्कुन्तरबाटै निस्केको यो भावना हो ।
उसो त मलाई त्यती थाहा पनि छैन यहाँ महिलाहरुद्वारा संचालित कती संस्थाहरु छन्?भनेर,तर मलाई यत्ती नै काफी भयो कि हर कार्यक्रम हर भेला र हर अवसरहरुमा मैले यहाँ महिलाहरुकै सहभागिता बढी देखें। यी द्रिष्यहरु नै मेरालागी काफी भयो यस्तो भावना जाग्रित हुन । म' त केवल कलमकर्मी हुँ सानो कुराले मात्रपनी सकारत्मक् सोंच थपीदियो भने कलम दौडाउन मन लागि नै हाल्छ त्यहिपनी न्युयोर्क जस्तो ब्यस्त शहर जहाँ महँगाइे पनि उस्तै छ । आफुले गाडी चलाएर जँहापनी पुग्न सक्छु भन्ने अवस्था छैन । टाढा,टाढा ट्रेनबाट नै धाएर जागिर गर्नुपर्ने बाध्यता छ । यस्तो परिस्थितीमा पनि हर शनिबार आइेतबार मिटिङ,कार्यक्रममा सहभागी हुन तम्तयार नै छन् न्युयोर्कबासी महिलाहरु। कुनै कार्यक्रम गर्नुपरे सबै मिलेर काम फत्ते गर्ने उत्साह पनि छ । आफ्ना आफ्ना ब्यवहारिकताका चाँजो पाँजो पनि मिलाएकै छन् । मैले यसो जानेसम्म र बुझेसम्म मेरा नजरमा पर्ने बिवाहित महिलाहरु त वहाँहरुका श्रीमानहरुभन्दा वहाँहरु नै पो अग्रसर पाएँ । शायद मेरो नजर र सामिप्यता त्यस्तै महिलाहरु नजिकसम्म मात्र पुगेको हुनसक्छ,तर यसो भन्दा "पोथी बासेको" भन्ने गलत अर्थ चाँही नलगाउनु होला है ।
अबको जमानाले पनि पोथीलाई कोर्कोराउनु मात्र होइेन बास्नुपनी पर्छ भन्ने मान्यता दिएको छ । पोथीले कोर्कोराएर अण्डा र चल्ला मात्र दिइे भने त ती चल्लाहरुको जीवनस्तर भालेले मात्र कहाँ बढाउन सक्छ र ? पोथीले केवल कसिङर मात्र खोतल्दै आफ्ना चल्लाहरुलाई खान बोलाउँछे भने त ती चल्लाहरुले कसरी बिहानीको डाकलाई ब्युँझाउन सक्षम बन्छन् र ? यसैले भालेपोथी दुवैको हात हुन्छ बिहानीको डाक निम्त्याउन आफ्ना चल्लाहरुलाई सक्षम बनाउन ।
हो,यो एउटा उदाहरण हो अहिलेको समयको पारिवारिक सम्झौता । अमेरिकामा त झन एकजनाको कमाइेले मात्र जीवन धान्न मुश्किल पर्छ । नेपालमा भए पो पैत्रिक सम्पत्तिले जिविकोपार्जन गज्जबले हुन्छ र बुढा काम गर्ने बुढी घर ब्यवहार मात्र हेरेर बस्ने अनि नेतागिरी गर्ने भन्ने आक्षेप लाग्छ तर यहाँ त त्यसो हुन्न ।
श्रीमान श्रीमती दुवै जनाले नै बराबर आर्जन गर्न सक्नु पर्यो तबमात्र आफ्नो जीवन बँचाइेको ताल्मेल मिलेर बाहिरी उदेश्य र लक्ष अनि समाज सेवाका कामहरुमा अग्रसर बन्न सकिन्छ । यस्तै परिस्थितीको माखे साङ्लोमा बेर्हिएर पनि न्युयोर्कबासी नेपाली दिदी बहिनीहरु बाहिरी प्राङणका काम कर्तब्यहरु गर्न अग्रसर भएको देख्दा म कोलोराडोबासी महिला दंग परेकी छु र सोँच्छु नौबर्ष समय यसै कोलोराडोमा बर्बाद गरिएछ जस्तो महशुस हुन्छ कैलेकँही ।
हुन त कोलोराडोमा पनि महिला प्रतिनिधित्व गर्नेहरु छन् तर न्युन मात्रामा । जस्तै निलम श्रेष्ठज्युले रक्की माउण्टैनको अध्यक्ष पदमा रहेर काम गरिसक्नु भएको छ । (अन्य संस्थाहरुमा कोही महिलाहरु उत्तरदायित्व सम्हालेर बस्नु भएको छ भने म अनभिज्ञ छु माफि पाउँ ) मैलेपनी २०१२ बाट २०१४ सम्मको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको अध्यक्षको भार सम्हालिरहेकी छु । समयको बहावले मलाई अचानक न्युयोर्क आउनुपर्यो तथापी म यँही बसेर नै आफ्नो जिम्मेवारी,सरसल्लाहको कार्यहरु गरिरहेकी छु तर मेरो आशय केहो भने जत्ती न्युयोर्कबासी महिलाहरुमा एकता,उत्साह र काम गर्ने उमङ छ त्यो चाँही कोलोराडोबासी महिलाहरुमा मैले पाउन सकिन । आफु कोलोराडोबासी भएरैपनी ।
आखिर साथमा साथ,हातमा हात भए नै त लक्ष र उदेश्यमा पुग्न सकिन्छ । यो पाठ चाँही मैले न्युयोर्कबासी महिलाहरुबाट सिक्ने अवसर पाएँ । यस्तो कुरा किन खट्कियो भने मैले केही महिना अघिमात्र यू एस् नेपाल अनलाइेनको वार्षिकओत्सवको निमन्त्रणामा जाँदा उक्त कार्यक्रममा सहभागी महिलाहरु र धेरै महिलाहरुले आ-आफ्ना क्षेत्रबाट पाएका सम्मानहरु अनि सुम्निना साँझमा उपस्थित हुँदा त्यँहा भेला भएका महिलाहरु उनिहरुका अग्रसरता र अब हालै हुन लागिरहेको न्युयोर्कमा पहिलो महिला साहित्य सम्मेलनको अग्रसरता देख्दा यहाँ महिलाहरुको भूमिका निक्कै नै गहन र उदाहरणीय लाग्यो । अर्का त्यस्तै महिलाहरुको बाहुल्यता रहेको अधिकार संस्थाले मलाई न्युयोर्क भित्रिनासाथ आकर्षित गर्यो । जहाँ महिला हकहित मात्र नभएर मानव कल्याणकै काम गर्नुका साथै निरक्षर महिलाहरु र पुरुषहरुलाई पढाउने काम पनि भएको देख्दा म मनमनै प्रफुल्लित बनें र महिला शाहस र एकताबाट अरु थप जाग्रित बनें ।
अर्का त्यस्तै महिला दिदी बहिनीहरु मिलेर खडा गरेको समुह पनि रहेछ जस्ले खाली बोतल,टिनका बट्टाहरु भेला पारेर आर्जन गरेको पैसाहरु नेपालको अनाथ बालआश्रममा लगानी गरिरहेको रहेछ हुनत महिलाहरुलाई हातमा हात साथमा साथ दिने त पुरुषहरु नै हुनुहुन्छ । जुनसुकै साना तिना भेला या कार्यक्रमहरुमा पनि सबै पुरुष पत्रकारहरु गएर समाचार लेखिदिने,तस्बिर लिइेदिने खबरहरु संप्रेषण गरिदिने जस्ता सहयोगी कामहरु हुनाले पनि महिला बर्गहरुलाई थप उर्जा बढेको मैले महसुश गरें । समग्रमा भन्नैपर्दा न्युयोर्कका नेपालीहरुको एैक्यबद्धता र सहयोगी भावनालाई सबैले लिन र सिक्न जरुरी छ ।
लाग्दो हो म न्युयोर्कका महिलाहरुप्रती वा न्युयोर्कबासीप्रती ज्यादै सकारात्मक बनें तर हामीले जहिल्यै पनि के सोंच्नु पर्दछ भने राम्रा,नराम्रा पक्षहरु दुवै हुन्छन् तर खाली नराम्रा पक्षलाई मात्र इंगित गर्नु हुन्न । राम्रा पक्षलाई पनि आत्मसात गर्नुपर्दछ । नराम्रा कुराहरु भएर नै राम्रा कामकुराहरुको अस्तित्व हुने गर्छ । होलान् यहाँ नराम्रा पक्षका कुराहरुपनी । एकले अर्कालाई पछार्ने,लडाउने प्रविर्तिहरुपनी तर नराम्रा कुराहरुलाई जती चासो राख्दै गयो उत्ती नै त्यस्ता कुराहरुलाई बढावा दिएजस्तो हुन्छ । त्यस्ता नराम्रा कुराहरुलाई निफनेर फ्याँक्ने र राम्रा कुराहरुलाई समेट्ने गरेमा एउटा कथन नै छ नि। नेपालीकैलागी बनाएको नेपाली कथन । "नेपालीहरु जता गएपनी बानी उस्तै"भन्ने ।
यस्तै कथन नै सुगाले रटे झैं रटी रहन्छौं हामी । यसर्थ राम्रा कामहरुको सर्हाना हुनुपर्दछ यस्ले जोकोहिलाई पनि अझ थप उर्जा मिल्न सक्छ । मैले न्युयोर्कका महिलाहरुको कुरा गर्दा ती महिलाहरुलाई छुट्टाउँन हुँदैन जो मेरा नजरमा परेका छन् अत्ती नजिकबाट र जो शसक्त देखिनु हुन्छ गीता खत्री,(अद्यक्ष अ.ने.सा.स.केन्द्र ) मनु लोहोरुङ,सिता खरेल,पूनम काफ्ले,बन्दना कोइेराला,सुनीता शर्मा,पूनम पौडेल,गिता पन्थ,(पद्मा लिंखा मगर जो नेपथ्यमा बसेर लेखीरहेछिन् )कमला प्रसाइें जस्ले आफ्नो एकल संस्था खोलेर बिगतदेखी बिभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरिरहनु भएको छ । सुकु राइे र वहाँका सहयोगीहरु जस्ले खाली बोतलहरु र टिनका बट्टाहरु भेला पारेर प्रवासमा रहेर पनि आफ्नो देशमा सहयोग पुर्याइे रहनु भएको छ । अर्का एक संस्था जुन ज्यादै बलियो मानिन्छ उक्त संस्थामा कार्यरत नर्बदा छेत्री र उक्त संस्थाकी संस्थापक हुन् शायद लुना रंजित वहाँहरुलाईपनी मैले उदाहरणको रुपमा लिएकी छु । अर्की एकजना बिर्सन नहुने महिला हुन् डा.बिष्णुमाया प्ररियार जो बोष्टनमा बस्नु भएपनी यहाँका हरेक कृयाकलापमा सामेल हुनुहुन्छ ।
यसरी मैले नाम लिनुपर्दा धेरैका नामहरु छुट्टिन गएको मैले महशुस गरेकी छु । मेरो लेखनको औचित्य पहिला नै मैले भनिसकेकी छु कि जो मेरा नजरमा र सामिप्यतामा पर्नु भएकाहरु भनेर । आशा छ आगामी दिनहरुमा न्युयोर्कमा बस्दै जाँदा अन्य अपरिचित महिला दिदी,बहिनीहरुपनी मेरो नजरमा पर्नु होला र वहाँहरुका पनि यस्तै राम्रो प्रभाव म'मा पर्लान् अनि मैले यसरी नै वहाँहरुका नामहरुपनी लेख्न सफल बन्नेछु भन्ने आशा छ ।
यसरी मैले नाम लिनुपर्दा धेरैका नामहरु छुट्टिन गएको मैले महशुस गरेकी छु । मेरो लेखनको औचित्य पहिला नै मैले भनिसकेकी छु कि जो मेरा नजरमा र सामिप्यतामा पर्नु भएकाहरु भनेर । आशा छ आगामी दिनहरुमा न्युयोर्कमा बस्दै जाँदा अन्य अपरिचित महिला दिदी,बहिनीहरुपनी मेरो नजरमा पर्नु होला र वहाँहरुका पनि यस्तै राम्रो प्रभाव म'मा पर्लान् अनि मैले यसरी नै वहाँहरुका नामहरुपनी लेख्न सफल बन्नेछु भन्ने आशा छ ।
मेरो गन्थनको फेदमा आइेपुग्दा मैले बिर्सनु हुन्न कि न्युयोर्कमा आगामी हुनगइेरहेको "प्रथम महिला साहित्य सम्मेलन"मा पनि न्युयोर्कबासी महिलाहरु अत्ती नै उत्साहित र उर्जाशिल भएर लागिरहनु भएको छ । पक्कैपनी यो उर्जा एउटा उदाहरणीय कार्य भएर लेखिनेछ तर निस्वार्थ र निस्छल भइे लागिपरेमा । "कामकोलागी काम गर्नुपर्छ।" न'की "नामकोलागी मात्र"भन्ने कुण्ठित सोंच कसैलेपनी पाल्नु हुन्न र "म" र "मेरो" भन्ने भावना कसैमा पनि पालिनु हुन्न । सबैले हातेमालो गर्न पाउनुपर्छ र कसैलाई काख कसैलाई पाखा गर्ने प्रविर्ती पनि कसैमा हुनुहुन्न ।
आचार्य प्रभा ( न्युयोर्क )