विराटनगर जेठ ७,
विनादर्ता सञ्चालन भएका झोले ल्याबमा गरिएको परीक्षण रिपोर्ट फरक फरक आउने गरेको त सुनिएकै हो । तर, राम्रा र सुविधासम्पन्न भनिएका अस्पतालका प्याथोलोजी ल्याबमा पनि फरक फरक रिपोर्ट आउने गरेपछि चिकित्सा क्षेत्रमा प्रश्न उठेको छ ।
भारतको एक र नेपालका ११ वटा अस्पताल र प्याथोलोजी ल्याबमा कोलेस्टोरोल परीक्षण गराउँदा फरक फरक रिर्पोट आएपछि विराटनगर १३ का मातृका सिवाकोटी हैरान भएका छन् । अस्पताल र प्याथोलोजी ल्याबको फरक फरक रिपोर्ट लिएर ६ भन्दा बढी चिकित्सकलाई देखाउन पुग्दा उनीहरु नै हैरान भएकाले सिवाकोटीले अहिलेसम्म कुनै औषधि चलाएका छैनन् । सिवाकोटीले भने, ‘कुनैमा हाई रिक्सको रिपोर्ट छ, कुनैमा केही कमी भएको भन्ने छ । ६/७ जना फिजिसियनलाई देखाए, कसैले यो सही हो भन्न सकेनन् ।
दबाई कसरी चलाउनु ?’
पेसाले पुस्तक व्यवसायी सिवाकोटीले आँखामा मासुको डल्लो देखिएपछि शरीरमा कोलेस्टेरोल बढेको आशंकामा सुरुमा ६ चैत ०७० मा भारतको दिल्ली गएको मौकामा अपोलो अस्पतालमा कोलेस्टेरोल जाँच गराएका थिए । त्यहाँ उनलाई +२१ कोलेस्टेरोल भएको रिपोर्ट दिइयो । एपोलोले खासै समस्या नरहेको र खानपिनमा सतर्कता अपनाउन सुझाब दिए ।
तर उनलाई साथीभाइले फेरी जचाउँन सल्लाह दिए । त्यसपछि उनले २७ चैतमा विराटनगरको प्रसिद्ध एनआरएल प्याथोलोजीमा जाँच गराए ।
यहाँ उनको कोलेस्टेरोल +९० देखियो । त्यसपछि रनभुल्लमा परेको उनले ३० चैतमा विराट अस्पतालमा जाँच गराए । यहाँ उनको -१६ देखियो । त्यसपछि उनले ६ वैशाख ०७१ मा विराटनगरको न्युरो अस्पतालमा जाँच गराए । त्यहाँ उनको कोलेस्टेरोल +९१ आयो । त्यसपछि ११ वैशाखमा विराटनगरको नोबेल अस्पतालमा जाँच गरे । त्यहाँ उनलाई ५३ कोलेस्टेरोल भएको रिपोर्ट दिइयो । त्यही दिन उनले विराटनगरकै शुभम् प्याथोलोजीमा पनि जाँच गराए ।
त्यहाँ त झन उनको १३१ कोलेस्टेरोल भएको रिपोर्ट आयो । त्यसपछि उनले अन्य ल्याबमा गरी १२ वटा ल्याबमा जाँच गराए तर सबैमा उनको रिपोर्ट फरक फरक आयो । काठमाडौंमा आएर जाँच्दा पनि फरक फरक रिपोर्ट आएको छ । टिचिङ, नर्भिकमा समेत फरक फरक रिपोर्ट आएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । (स्वास्थ्य खबर)