कविता. तिमी ,म र उनी .
हामी सबै सँग यसरी नै
घुमिरहन्छ-यो समयको चक्र!
अत्यासलाग्दो हुरी सँगै
अनेक बिम्बहरू जन्मिन्छन र मर्छन
ऊ समय सँग उदास छ- तिमी जिन्दगी सँग!
म बटुलिरहेछु-
यिनै स्मृतिका छरपस्ट पानाहरू!!
अनायासै-
बोलाएझैं लाग्छ-तिम्रा अक्षरहरुले
"तिमी कस्तो जिन्दगी खोजिरहेछौ-अक्षरहरुमा ?"
यहाँ,धेरैले आसुँ बगाएर गए
पन्नाहरु लिलस्मी रंगले रंग्याएर गए-
तिमी आउनु भन्दा पहिले !!
तर,
न रंग देखियो
न भयो दुखाइको झिनो महसुस नै!
जसरी चाहे-
रंग छरेर गए-आफ्नै मनोमानीमा!
कति पटक च्यातियो जिन्दगी
पटक कति फाट्यो जिन्दगी
कति पटक रंगहरुले कोरियो जिन्दगी!
कत्ती पटक मेटियो जिन्दगी
आखिर,
यौटा अस्थायी रंगको आकार न रहेछ
यो जिन्दगी भन्नू पनि!!
अनि,
मेटिए- बाचाका रंगहरु पनि
केरिए-एक्लोपनाका काव्यहरु
र सुनाइए-
मुटु रेट्नकै लागि-झुठा पुराणहरु-
जब बिलायौ तिमी-
पानीमा कोरिएको तस्वीरजस्तै
जब हरायौ तिमी-
यिनै पन्नामा लत्पतिएका रंगहरुजस्तै!!
मुना मन सीग्देल
मोरँग -उर्लाबारी -४