कविता "पहिचान" : By, रमेश चन्द्र घिमिरे


 कविता "पहिचान"

 मैले तिमीसँग शीतलता मागेँ,
स्वच्छता र पवित्रता मागेँ
 तिमीले मलाई चन्द्रमा दियौ
त्यो शुक्ल पक्षको चन्द्रमा थियो
 त्यो जुनेली रात थियो
 मैले त्यस बङ्किम चन्द्रज्योतिमा
 वसन्तको बहार पाएँ,
गृष्मको मध्यरातको उखुमलाई हटाउने
 चिसो पाएँ,
शारदीय सौन्दर्य पाएँ

मैले तिमीसँग अलिकति उत्साह मागेँ,
जोस र जाँगर मागेँ
 तिमीले मलाई सूर्य दियौ
 मैले त्यसमा कठ्याङ्ग्रिँदो हेमन्त र शिशिरमा पनि
 न्यानो घाम, पहारिलो उत्साह र सन्तोषको
 ऊष्णता भेटेँ
 आलस्यले ओइलाएको शरीरमा
 फूर्ति र आनन्द भेटेँ

मैले तिमीसँग क्रान्ति मागेँ,
बहादुरी र आत्मगौरव मागेँ
 तिमीले पूरै भुइँमा लालिमा पोख्यौ
 दुश्मनलाई घुँडा टेकाउने रक्तक्रान्तिमा
 अमरसिंह र भक्ति थापाको रगतले लेखेको
 इतिहास देखेँ
 तिमीले पोखेको रातो मसीमा
 बलभद्र र भीमसेनको बहादुरी देखेँ
 गङ्गालाल, दशरथ, शुक्रराज र धर्मभक्तको
 बलिदान देखेँ

मैले तिमीसँग शान्ति मागेँ,
निश्छलता र मानवता मागेँ
 तिमीले किनारै किनार
 नीलो मसीले गहिरो नदीको जस्तै साँध बनाइदियौ
 त्यहाँ मैले अहिंसाका देवदूत
 भगवान् गौतम बुद्धको आदर्श भेट्टाएँ

मैले तिमीसँग सहारा मागेँ,
आधार र आडभरोसा मागेँ
 तिमीले मलाई लट्ठी दियौ
 मैले त्यो लट्ठी धरतीमा टेक्ने साधन बनाइनँ
 अरुलाई प्रहार गर्ने हतियार बनाइनँ
 तिमीले दिएको नासोमा घुसारेँ र
 दुवै हातले उचालेर फरफराएँ
 अनि
 मैले मेरो देश बचाउन
 आफ्नो प्राणको उत्सर्ग गर्ने सहिदलाई पुकारेँ
 इतिहास बनाउने पुर्खाहरुलाई सम्झिएँ
 नेपाली हुनुको भावलाई आत्मसात् गरेँ
 राष्ट्रियताको मर्मलाई खोकिलामा घुसारेँ
 अनि
 हिमाल, पहाड, तराईलाई गुञ्जायमान बनाउँदै
 डाँडा-पाखा, भिर, पखेरा र
 कुना-कन्दरा थर्काउँदै चिच्याएँ—
नेपाल, मेरो नेपाल र प्यारो नेपाल !
×××××× ××× ×××××× ××××××
नेपाल आमा
 तिमीले मलाई दिएको
 त्यो प्यारो नासो
 अरु केही नभएर मेरो पहिचान थियो
 र, त्यो मेरो राष्ट्रिय झन्डा थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com